आकस्मिक रक्तदान कार्यक्रममा २३ जनाले गरे रक्तदान

पुष ८, पर्वत । पर्वतको कुश्मामा मंगलवार आयोजना गरिएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । कोभिड १९ को संकटको बेला रगतको अभाव भएको समयमा आकस्मिक रक्तदान कार्यक्रम गरि रगत संकलन गरिएको हो ।

पर्वतमा क्रियाशिल लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै आकस्मिक रक्तदान गरिएको क्लवका अध्यक्ष राममाया श्रेष्ठले बताउनुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले रक्तदान कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई ख्याल गर्दै क्लवले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले रेडक्रस मातहत रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक नीतिगत निर्णय गरि पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जोशीले पर्वत अस्पतालमा डायलासिस सेवा शुरु भएको अवस्थामा पर्वतमा रक्तसञ्चार केन्द्र अत्यावश्यक भएको हुनाले त्यहि आवश्यकता लाई मध्यनजर गर्दै रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

पर्वत अस्पताललाई अत्याधुनिक बेड व्यवस्थापन र उपकरण जोहो गर्न प्रवासी नेपालीहरु र लायन्स क्लवले हातेमालो गरेको र त्यसमा आफुले पहल गरेको जोशीले अवगत गराउनुभयो । नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापती रुद्रवहादुर रिमालले पर्वतमा रगतको अभाव हुन नदिन रेडक्रस तत्पर रहेको जानकारी दिनुभयो ।

रगतको अभाव हुन नदिन बेलाबेलामा शिबिर सञ्चालन हुँदै आएको सभापती रिमालले बताउनुभयो । रक्तदान कार्यक्रममा लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारी , पूर्व अध्यक्ष सरस्वती शर्मा जिज्ञाशु, अजिता शर्मा, लायन्स, लियो क्लव, रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०१:४४