प्रधानमन्त्री संसद र प्रतिपक्षसँग भाग्दैछन्ः वरिष्ठ नेता पौडेल

नेपाली आवाज–डेक्स । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संसद र प्रतिपक्षसँग भाग्दै हिँडेको आरोप लगाएका छन् । चितवनको मंगलपुरस्थित विश्वप्रकाश माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा वरिष्ठ नेता पौडेलले मुलुकमा बिथोलिएको सुशासन, सुरक्षा र विकासको सामना गर्न नसकेर प्रधानमन्त्री ओली संसद् र प्रतिपक्षबाट भाग्न लागेको आरोप लगाए ।
‘‘सरकारले तीनवटा मुख्य काममा ध्यान केन्द्रित गर्नुपर्नेमा तीनै काममा असफल भएको छ । सुरक्षा, विकास र सुशासन सरकारले ध्यान दिनुपर्ने विषय हुन् तर सरकार यी तीनै विषयमा असफल भइसक्यो ।’
वरिष्ठ नेता पौडेलले वर्तमान कम्युनिष्ट पार्टीलाई काम सुवर्ण अवसर पाएको बताउँदै भने, ‘यो सरकारले काम गर्ने सुवर्ण अवसर पाएको छ । कांग्रेस जस्तो भद्र र अनुसाशित प्रतिपक्ष पाएको छ । कम्युनिष्ट सरकारले काम गर्ने बेला हो । वातावरण पनि अनुकुल छ ।’

काम गर्ने सुवर्ण अवसर पाएपनि कम्युनिष्ट सरकारले देशलाई सुशासन दिने काम गर्न नसकेको पौडेलले टिप्पणी गरे । ‘झन् अहिले हरेक क्षेत्रमा भ्रष्टचारका काण्डहरु बाहिर आएका छन् । शान्ति सुरक्षाको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘सरकार मुलुकलाई विकास दिन होइन, भएका योजना भत्काउन लागेको छ । प्रधानमन्त्री संसद र प्रतिपक्षसँग भाग्दै हिँड्नुभएको छ ।’

प्रकाशित मिति ५ माघ २०७५, शनिबार ०१:४४