पर्वतको कुश्मामा काँग्रेसको बिशाल विरोध सभा,कम्युनिष्ठहरुले कुर्चीको मोहमा देशलाई अनिश्चयको भूमरीमा पारेको नेता जोशीको भनाई

पौष १४, पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पर्वतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा विरोध सभा गरिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले चर्का नारावाजी गर्दै बजार परिक्रमा गरेर आचार्यचोकमा कोणसभा गरिएको छ ।

विरोधसभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस सत्तामा पुग्ने चाहनाले नभई लोकतन्त्रको रक्षाका लागि सडकमा ओर्लिएको बताउनुभयो । नेपाली काँग्रेसलाई सत्ता र शक्ति भन्दा लोकतन्त्र सबैभन्दा बढि महत्वको विषय भएको उल्लेख गर्दै नेता जोशीले अहिले संविधान र लोकतन्त्र प्रधानमन्त्री ओलीका कारण अप्ठयारो घडीमा रहेकाले प्रधानमन्त्रीको गलत कदममा खवरदारी गर्न सडकमा आउनुपरेको स्पष्ट पार्नुभयो ।

लोकतन्त्र धरापमा पर्दा नेपाली काँग्रेसले अभिभावकको भूमिका निभाउँदै समस्या किनारा लगाउने गरेको स्मरण गर्दै जोशीले पाँच वर्ष सरकार चलाउने जनमत पाएको कम्युनिष्ठ सरकारले कुर्चीको मोहमा देशलाई अनिश्चयको भूमरीमा पार्न खोजेपछि काँग्रेस जनताको माझबाट खबरदारी गर्न आन्दोलनमा उत्रिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उलंघन गर्दै र जनताको अपेक्षालाई कुठराघात गर्दै संसद विघटन गरेको भन्दै उहाँले पटक पटक आलोचना गर्नुभयो । नेपाली काँग्रेसको काँधमा फेरि एकपटक संविधान, जनताको मत र लोकतन्त्रको रक्षा गर्नुपर्ने दायित्व आईलागेको जोशीले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभापती एवं विघटित प्रधिनिधीसभाका साँसद लालकाजी गुरुङले अधिनायक बादी चिन्तन लिएर अगाडी बढेका प्रधानमन्त्री ओलीको अहंकार जनताको आन्दोलनले निष्तेज हुने चेतावनी दिनुभयो । गुरुङले राजा र राणाहरु आफ्नै अंहकारले समाप्त भएको बताउँदै ओली पनि आफ्नै अहंकारले समाप्त हुने दिशामा रहेको बताउनुभयो । काँग्रेस देशका लागि जुनसुकै कुर्वानी गर्न तयार रहेको भन्दै गुरुङले सत्तामा पुग्ने अवसर काँग्रेसका लागि नौलो विषय नरहेको चर्चा गर्नुभयो ।

विरोधसभामा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापती नवराज गुरुङ, प्रदेशसभा सदस्य ललितकला गुरुङ, महासमिति सदस्य वसन्तबहादुर सिके, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, महासमिति सदस्य एवं पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महाधिबेशन प्रतिनिधी एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, स्थानीय तह निर्वाचनमा फलेवास नगरपालिकाका प्रत्यासी एवं महासमिति सदस्य गंगाधर तिवारी, विहादी गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी प्रविण गुरुङ, महाशिला गाउँपालिकाका प्रत्यासी उज्वल गुरुङ,दलित संघका केन्द्रीय सदस्य शेरवहादुर सुनार जीतवहादुर, जनजाती महासंघका केन्द्रीय सदस्य भीमसेन गुरुङ, तरुण दलका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरी, नेविसंघका जिल्ला अध्यक्ष मिलन सुबेदी, ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, नेपाल महिला संघका अध्यक्ष जोगमाया प्रसाई लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस पर्वतका सभापती खिमप्रसाद भुसालको सभापतित्व, सचिव अशोक उचै ठकुरीको सञ्चालन र उपसभापती दुर्गावहादुर खत्रीको स्वागत सहित कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सचिव अशोक उचै ठकुरीले कार्यक्रममा सहभागी भएकाहरुले उत्साहको सन्देश लिएर गाउँ फर्किएको बताउनुभएको छ ।

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार ०२:१०