अन्तराष्ट्रिय पर्वत समाजद्धारा कोरोनाका कारण मुत्य भएका परिवारलाई ५० हजार सहयोग

पौष १८, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले कोरोना भाइरस कोभिड–१९ को कारण मृत्यु भएका बिहादी गाउँपालिका–१ बाच्छा देउराली निवासी मदन गुरुङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । रोजगारीको शिलशिलामा कतार पुगेका गुरुङको जेठ २६ गते निधन भएको थियो । मृतकका परिवारलाई हौसला प्रदान गर्ने उद्देश्यले ५० हजार रुपैयाँ सहयोग गरेकोे अन्तराष्ट्रिय पर्वत समाजका सचिव शेषराज तिमिल्सीनाले जानकारी दिनुभयो । पीडित परिवारलाई रकम उपलव्ध गराउन पर्वत समाज कतारले समन्वय गरेको थियो । उक्त रकम देउराली टोल सुधार समितिका संयोजक झपरवहादुर केसी, समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ र अर्का समाजसेवी नारायण दत्त भुषाल, स्थानिय शान्ति युवाक्लवका अध्यक्ष दिपक गुरुङ, तमुसमाज बाच्छाका अध्यक्ष चित्रवहादुर गुरुङ लगायत स्थानिय व्यक्तको रोहवरमा पीडितको घरमा पुगेर गुरुङकी धर्मपत्नी बेलकुमारी गुरुङलाई प्रदान गरेको सचिव तिमिल्सीनाले बताउनु भयो ।

राहात हस्तान्तरण कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय समाजका सचिव तिमिल्सीनाले समाजले पीडितको थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले रकम वितरण गरेको बताउनु भयो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजले कोरोनाका कारण प्रवासमा मृत्यु भएका परिवारलाई ५० हजार का दरले रकम उपलव्ध गराउँदै आएको जानकारी गराउँदै भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रमलाई सफल बनाउन अन्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधी मुना भुषाल, समाजका सदस्य एवम् पर्वत समाज कतारका अध्यक्ष सविन्द्र श्रेष्ठ लगायतका व्यक्तिले समन्वय गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन स्थानिय युवा ओम गुरुङले गर्नुभएको थियो ।


यता अन्तराष्ट्रिय पर्वत समाजले उपलव्ध गराएको राहात रकम पीडितको घरमै पुगेर हस्तान्तरण गरेकोमा समाजका अध्यक्ष पुरन गिरीले सचिव शेषराज तिमिल्सीना लगायत स्थानिय समाजसेवी, युवाक्लव तथा टोल सुधार समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार ११:१५