स्वर्गीय अमृतप्रसाद जोशीको १३ औं स्मृति दिवसको अवसरमा वतृत्वकला प्रतियोगीता सम्पन्न,राजनीति र समाजसेवा बीचको सम्बन्ध अन्योन्याश्रीत छ –काँग्रेस नेता जोशी

पौष २२, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राजनीति र समाजसेवाबीचको अन्तरसम्बन्ध अन्योन्याश्रीत रहेको वताउनु भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले कुश्मामा वुधवार आयोजना गरेको ‘समाजसेवा र राजनीतिबिचको अन्तरसम्बन्ध’ विषयक खुल्ला वतृत्वकला प्रतियोगीतामा आफ्नो मन्तव्य राख्दै काँग्रेस नेता जोशीले उक्त कुरा वताउनु भएको हो । स्वर्गीय अमृत जोशीका ज्येष्ठ सुपुत्र एवं प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका नेता जोशीले समाजसेवासँग राजनीतिलाई नजोड्दा राजनीतिप्रति अहिले नयाँ पुस्ताको आकर्षण घटेको वताउँदै नेपालको राजनीतिलाई स्वच्छ, मर्यादित र भरोषायुक्त बनाउन पनि समाजसेवा र राजनीतिलाई जोडेर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । काँग्रेस नेता जोशीले पिता अमृतप्रसाद जोशी आफ्नो राजनीतिक जीवनको एक असल मार्गदर्शक र प्रेरणाको श्रोत भएको दावी गर्दै समाजप्रतिको समर्पण र राजनीतिप्रतिको कर्तव्यवोधका कारणले आज पनि स्वर्गीय अमृतप्रसाद जोशीको नाम समाजले सम्मानपूर्वक लिनेगरेको जानकारी दिनुभयो । उहाँले राजनीति र समाजसेवालाई निरपेक्षतामा नभई सापेक्षतामा जोडेर अघि बढ्न नयाँ पीढीलाई आग्रह गर्नुभएको थियो । नेता जोशीले अमृत जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताबाट युवा विद्यार्थीहरूको वाक प्रखरताको पहिचान गर्ने अवसर पाएको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा अमृत जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता गंगाधर तिवारीले स्वर्गीय अमृतप्रसाद जोशी समाज र राजनीतिको आदर्श भएको वताउँदै अमृत जोशीले देखाएको निष्ठा र त्यागलाई सबै राजनीतिकर्मीहरूले आत्मसात गर्न सके मात्रै राजनीतिप्रति जनताको विश्वास बढ्ने दावी गर्नुभएको थियो । अध्यक्ष तिवारीले आजको युवा पुस्ताले समेत स्वर्गीय अमृतप्रसाद जोशीको निष्ठा र समर्पणको प्रेरणा लिन सकोस भन्ने अभिप्रायले यो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभएको थियो ।

अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका युवा नेता गंगाधर तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव माधव पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कार्यक्रम संयोजक कुलप्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगिताका नियम र आचारसंहिताको वारेमा नगर शिक्षा अधिकृत एवं निर्णायक मण्डलका संयोजक राजेन्द्रबहादुर क्षेत्रीले जानकारी गराउनु भएको थियो भने प्रतियोगिताको अन्य निर्णायक समिति सदस्यहरूमा सहप्रध्यापक लक्ष्मीप्रसाद शर्मा र नगरपालिकाका सूचना अधिकृत राजीव रिमाल हुनुहुन्थ्यो । वतृत्वकला प्रतियोगीतामा राम मावि शंकरपोखरीका छात्र सुन्दर भुषाल पहिलो हुनुभएको छ । उहाँले नगद २१ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नारायण मावि कुश्माकी छात्रा निशा आचार्य दोस्रो हुनुभएको छ । उहाँले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै हिमालय मावि खुर्कोटकी छात्रा दिपशिखा सुवेदी र जनकल्याण मावि नाग्लिवाङका छात्र सागर चपागाई तेस्रो हुनुभएको छ । उहाँहरुलाई नगद १०÷१० हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कार्यक्रममा नमुना माविका छात्र सौगत लामिछाने सान्त्वना हुनुभएको छ । उहाँले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
पर्वत जिल्लाको सामाजिक र राजनीतिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीको १३ औं स्मृति दिवसका अवसरमा आयोजित उक्त वतृत्वकला प्रतियोगितामा पर्वत जिल्लाका विभिन्न स्कुल तथा क्याम्पसबाट गरि दुईदर्जन बढि प्रतियोगीहरूले भाग लिएका थिए ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार १२:२७