पर्वतको पाङ र खानीगाउँमा हात्तिपाईलेको परिक्षण हुँदै

पौष २९, पर्वत । पर्वतमा हात्तिपाईले रोगको वर्तमान अवस्था पत्ता लगाउन दुई वटा गाउँमा परिक्षण गरिने भएको छ । जिल्लाको कुश्मा नगरपालिका १ पाङ र फलेवास नगरपालिका ५ खानीगाउँमा समूदायमा हात्तिपाइले रोगको अवस्था पत्ता लगाउन परिक्षण गरिने भएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले पाङ र खानीगाउँमा हात्तिपाईले रोगको संक्रमण रहेको तीन पटक गरिएको परिक्षण बाट पत्ता लागेको थियो ।

दुई स्थानमा हात्तिपाईले रोगका विरामी रहेकाले जिल्लाभर ११ औँ चरण सम्म हात्तिपाईले बिरुद्धको औषधी ख्वाइएको छ । अहिलेको अवस्था पत्ता लगाउने उदेश्यले दुई गाउँमा ६०० जनाको रगत परिक्षण गर्न थालिएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले स्थानीय तह र स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा समूदायमा परिक्षण गर्न थालेको जनाएको छ । केन्द्रका प्राविधिक सरोज अधिकारीले पर्वत जिल्लामा हात्तिपाईले रोग निवारण गर्ने हेतुले समूदायमा परिक्षण गर्ने र १२ औँ चरणमा औषधी पनि ख्वाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँले देशभरि हात्तिपाईले रोग निवारणका लागि गर्दै आएका कार्यहरु र पर्वतको अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले पाङमा कलष्टरमा ३ सय जना र खानीगाउँमा ३ सय जनाको रगत परिक्षण गरेपछि जिल्लामा अर्को चरणमा औषधी ख्वाउनुपर्छ वा पर्दैन भन्ने यकिन हुने बताउनुभयो । यसअघि पर्वतमा ३ पटक सम्म समूदायमा हात्तिपाईले रोगको अवस्था पत्ता लगाउन परिक्षण गरिएको थियो । कुश्मा नगरपालिकाले आज कुश्मामा हात्तिपाईले रोग र समूदायमा परिक्षणका बारेमा छलफल गरेको छ । छलफलमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरि पंगेनीले पर्वत जिल्ला मानव विकास सुचाकांकमा ११ औँ स्थानमा रहेपनि हात्तिपाईले रोगबाट मुक्त हुन नसक्नु आँफैमा दुखद पक्ष रहेको बताउनुभयो । पंगेनीले सबै सरोकारवालाले रोग निवारणका लागि सजग र सचेत हुनुपर्ने भन्दै यसका लागि आम औषधी सेवन गर्न अनुरोध गर्नुभयो ।
प्रमुख प्रसासकीय अधिकृत पंगेनीले समूदायमा व्यापक रुपमा परिक्षण गर्ने अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख डा। भोजराज गौतम, पर्वत अस्पतालका प्रमुख डा। शिशिर देवकोटा, कुश्मा नगरपालिका ११ का वडाध्यक्ष शिवप्रसाद पौडेल लगायतले आफ्ना सुझाव दिनुभयो । उहाँहरुले औषधी अनिवार्य रुपमा नखाने बानीका कारण संक्रमण शुन्यमा झर्न नसकेको बताउनुभयो । कार्यक्रमको स्वागत कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटा र सञ्चालक स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ०९:३९