काँग्रेसका सभापति शेरवहादुर देउवा आज दिउँसो शंकरपोखरी आउँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज माघ १ गते पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा पर्वत आउने भएका छन् । देउवा शहिद हरिदत्त स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्वोधन गर्न आज पर्वत आउन लागेको कांग्रेस महासमिति सदस्य गंगाधर तिवारीले जानकारी दिनुभयो । देउवा कार्यक्रम स्थलमा दिउँसो १२ बजे हेलिकोप्टर मार्फत उत्रिँदै हुनुहुन्छ । देउवाको साथमा नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी पनि आउने कार्यक्रम छ । आयोजकले बुधवार पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । देउवाले हरिदत्त तिवारी स्मृति भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको जानकारी गराईएको छ । नेपाी काँग्रेसका तत्कालिन क्षेत्रीय सभापति हरिदत्त तिवारीलाई तत्कालिन बिद्रोही नेकपा माओबादीले २०६० माघ १ गते हत्या गरेका थिए । पुस मसान्तीको राती आक्रमणमा परेका तिवारीको माघ १ गते अत्याधिक रक्तश्रापका कारण ज्यान गएको थियो । तिवारीको हत्यापछि सरकारले शहिद घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवा आउने भएपछि कार्यक्रम भब्यरुपमा गर्ने तयारी भएको छ ।
कार्यक्रममा उपस्थित हुन काँग्रेस कार्यकर्तालाई सभापति भुषालको आग्रह
नेपाली काँग्रेसका सभापती शेरवहादुर देउवा शंकरपोखरीमा आउने भएपछि नेपाली काँग्रेस पर्वतले जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरु, विभिन्न संगठन, भातृ तथा शुभेक्छुक संगठन, र जनप्रतिनिधी लगायतलाई अनिवार्य सहभागी हुन सुचित गरेको छ । केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री देउवा शहिद हरिदत्त तिवारीको १८ औँ स्मृति दिवशमा सहभागी हुन आउँदै हुनुहुन्छ । देउवाको स्वागतका लागि शंकरपोखरीमा पुग्न जिल्ला सभापति खिमप्रसाद भुसालले अनुरोध गर्नुभयो । आज बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्ने निर्णय गरे अनुसार सबै जिल्ला कार्यसमिति, भातृ तथा शुभेक्छुक संस्थाका प्रतिनिधीहरुलाई उपस्थित हुन सुचित गरिएको भुसालले बताउनुभयो ।

प्रकाशित मिति १ माघ २०७७, बिहीबार ०२:०८