काँग्रेसका शिर्ष नेताहरुको आरोप– कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप बढ्यो

नेपाली आवाज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् । पोखरामा नेपाल निजामती कर्मचारी युनियन संघको गन्डकी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै प्रजातन्त्र रक्षाका लागि ओली सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

सभापति देउवाले सरकारले चिकित्सा शिक्षा विधेयक र कर्मचारी समायोजनको नाममा कर्मचारीमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो । स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम रहेका अस्पताल खारेज गर्न लागेको भन्दै उहाँले सरकारले अराजनीतिक गतिविधि देखाएको आरोप लगाउनुभयो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले विकास भत्काउने र इतिहास मास्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले प्रतिपक्षी र जनतालाई हेप्न थालेको भन्दै यसविरुद्ध कांग्रेसले आन्दोलन गर्नुपर्न बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कर्मचारीहरुलाई कम्यूनिष्ट सरकारले आफु अनुकुल चलाउन खोजेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, र निजामती कर्मचारीहरुलाई नियन्त्रणमा राखेर सरकारले लोकतान्त्रिक अभ्यासलाई निमोठिरहेको जोशीले बताउनुभयो ।

नेपाल निजामती कर्मचारी यूनियन संघ गण्डकी प्रदेश प्रमुख शिव शर्मा अधिकारीले कम्यूनिष्ट सरकारले कर्मचारीहरुलाई दोस्रो दर्जाका नागरिक सरह व्यवहार गरेको आरोप लगाउनुभयो । कर्मचारीलाई तर्साएर सरकारले अतिबादी अभ्यासको थालनी गरेको अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति ६ माघ २०७५, आईतवार ०२:५२