पर्वतको चुवामा सयौँको उपस्थितीमा बिरोध प्रदर्शन

पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका ८ चुवाको आयोजनामा प्रतिनिधीसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसले देशव्यापी रुपमा गरेको बिरोध प्रदर्शन अन्तर्गत चुवामा सयौँ कार्यकर्ताहरुको उपस्थितीमा निरकुंशता बिरुद्ध विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य कुलप्रसाद पाध्याले प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक, अलोकतान्त्रिक तथा स्वेच्छाचारी रुपमा संसद भंग गरेर गलत काम गरेको बताउनुभयो । उहाँले नेपाली जनताले ठूलो त्याग, तपस्या र आन्दोलन गरेर ल्याएको व्यवस्था मासेर ओलीले भष्मासुर प्रवृति देखाएको बताउनुभयो ।
जिल्ला सदस्य पाध्याले नेपाली काँग्रेसले ल्याएको व्यवस्था ओलीको पञ्जाबाट जनतामा फिर्ता ल्याउने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा महिला संघका केन्द्रिय सदस्य जोगमाया प्रसाईले नेकपालाई जंगलमा डुल्ने बाँदर संग तुलना गर्दै यिनीहरुले आफ्नो घर पनि बिगारेको र देश पनि बिगार्ने प्रयास गरेका छन् भन्नुभयो । वडाध्यक्ष राजकुमार क्षेत्रीले कामचलाउ प्रधानमन्त्रीका गलत कदमको देशव्यापी भण्डाफोर गरि सत्ताबाट धपाउने चेतावनी दिनुभयो ।

नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसीले संविधान रक्षाका लागि सबै नेपाली जनताहरु एक जुट हुनुपर्ने बताउनुभयो । नेपाली जनतालाई ओलीले धोका दिएको बताउँदै केसीले जनताको नासो राजाले फिर्ता दिए झैँ ओलीले पनि फिर्ता गर्नुपर्ने बेला आएको बताउनुभयो । नेपाली काँग्रेसका वडा सभापति देविप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वडा सदस्य सीता समून्द्रियाले गर्नुभयो भने सञ्चालन पार्टी सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा तरुणदलका अध्यक्ष ठाकुर पोखरेल, शिक्षक संघका प्रदेश प्रतिनिधी बिनोद सुबेदी, वडा कार्यसमितिका पूर्व सदस्य कुलप्रसाद शमा लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति ९ माघ २०७७, शुक्रबार ०४:३८