दूरसञ्चार प्राधिकरणमा परामर्शका नाममा जथाभावी करोडौँ खर्च

नेपाली आवाज । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रूपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् ।

प्राधिकरणबाट भएका कामको अध्ययन गरी सुझाब पेस गर्न गठित पूर्वसहसचिव सूर्य राउत नेतृत्वको समितिको प्रतिवेदनले समेत परामर्श सेवामा अनावश्यक रूपमा खर्च गरिएको निष्कर्ष निकालेको छ । प्राधिकरणमा नभएको विशेषज्ञताका लागि परामर्श दातृ सेवा लिनु मनासिब देखिए पनि कर्मचारी विशेषज्ञबाटै हुन सक्ने काम कर्मचारीबाटै सम्पादन गराउन प्रतिवेदनले सरकारलाई सुझाबसमेत दिएको छ ।

प्राधिकरणले लिने परामर्श सेवा सूचीकृत आपूर्तिकर्ताबाट मात्रै खरिद गर्नुपर्ने कानुनी व्यवस्था भए पनि जथाभावी रूपमा गरेको प्रतिवेदनमा उल्लेख छ । परामर्श सेवाका नाममा लाखौँ रुपैयाँ खर्च गरिएको भए पनि निर्धारित समयमा प्रतिवेदन प्राप्त नभएको र एकपछि अर्को गर्दै समयावधि थप्ने काम मात्रै गर्ने गरिएको छानबिनका क्रममा फेला परेको छ । आव ०७३र७४ को विभिन्न मितिमा परामर्शदाता खर्चका नाममा जथाभावी भुक्तानी दिएको भन्दै छानबिन समितिले कतिपयको परामर्श प्रतिवेदन नै नभेटिएको पनि जनाएको छ ।आजको नयाँ पत्रिकामा खवर छ ।

प्रकाशित मिति ६ माघ २०७५, आईतवार ०२:५६