माघ १०, पर्वत । नेपाली कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत विहिबार पर्वतमा पनि ७ स्थानीय तहका ६१ वटा वडामा संसद विघटनका विरुद्धमा कार्यक्रमहरु सम्पन्न भएका छन् । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा भएको कार्यक्रमलाई सम्बोधन गदै नेपाली कांग्रेसका पूर्व मुख्य सचिव एवम् पुर्व साँसद ऋषिकेश तिवारीले केपी ओलीले भष्मासुर शैलीमा संसद विघटन गरेको बताउनुभयो । नेपाली कांग्रेस मुडिकुवा वडा समितिले आयोजना गरेको विरोध सभामा बोल्दै तिवारीले ओलीले जनतालाई भुंग्रोमा राखेर असंबैधानिक कार्य गरेको आरोप लगाउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले धार्मिक ग्रन्थको किंवदन्तिलाई जोड्दै भने ‘भगवान विष्णुसँग बर मागेर उल्टै भगवान माथि नै जाइलागेको भष्मासुरको जस्तै शैलि ओलीले अप्नाए’ उहाँले भगवान जस्ता जनतालाई संसद विघटन गरेर अन्याय र जघन्य अपराध गरेको आरोप लगाउनु भयो ।

वडा स्तरीय कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरुको बहुसंख्यक उपस्थिति नभएपनि नेकपाबाट निर्वाचित सोही वडाका वडाध्यक्ष टिकाराम गौडेल कार्यक्रम स्थलमा पुगेर केपी ओलीले चालेको कदमको चर्को विरोध गर्नुभयो । ‘संसद पुनःस्थापना भएपछि ओलीको हैसियत सकियो’ उहाँले थप्नुभयो ‘संविधानमा नै नभएको कुरा गर्ने अधिकार कसैलाई पनि छैन, लोकतन्त्रमा विधि विपरित कार्य गर्ने कसैको पनि भविष्य छैन’ कांग्रेसद्वारा आयोजित विरोध सभामा उपस्थित भएपछि नेकपा बृत्तमा गौडेलको चर्चा हुन थालेको छ ।
नेपाली काँगेस फनपा–४ मुडिकुवाका उपसभापति तारानाथ सापकोटा सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क का क्षेत्रिय सचिव एवम् कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडा अध्यक्ष कृष्णा लामिछाने, स्थानिय तहमा वडा अध्यक्ष पद प्रत्यासी बालाकृष्ण जैसी तिवारी, नेपाली काँग्रेसका नेता ढकप्रसाद तिवारी , काँग्रेस नेता किरण तिवारी, नेपाल विद्यार्थी संघ पर्वतका नेता अच्चुत तिवारी, महिला नेत्रीलक्ष्मी गौडेल,मुडिकुवा काँग्रेसका नेता लिलाधर गौडेल, काँग्रेस मुडिकुवाका नेता टुकनाथ सापकोटा, नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सल्लाहकार गणेश शर्मा भुषाल, काँग्रेस मुडिकुवाका नेता एकनारायण सापकोटा, नेपाल तरुण दल फनपा–४ मुडिकुवाका सचिव मनोज भुषाल, मुडिकुवा काँग्रेसका नेता धनेश्वर रेग्मी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको संचालन सागर गौडेलले गर्नुभएको थियो ।उक्त कार्यक्रममा नेकपा परित्याग गरि दुई जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
