संविधान माथि प्रहार भइरहँदा काँग्रेस टुलुटुलु हेरेर बस्न सक्देन : काँग्रेस नेता गुरुङ

माघ ११, पर्वत । नेपाली काँग्रेसका युवा नेता प्रविण गुरुङले नेकपा अध्यक्षद्धय केपी ओली शर्मा र पुष्पकमल दाहालको अन्तद्र्धन्द्धले मुलुकमा फेरी दुर्घटना निम्तेने खतरा बढेको बताउनु भएको छ । नेपाली काँग्रेस विहादी गाउँपालिका–६ शालिग्राम र वहाकी ४ ले आयोजनामा प्रतिनिधीसभा विघटन विरुद्ध विरोध प्रदर्शनमा बोल्दै गुरुङले यस्तो बताउनु भएको हो । पार्टी एकतादेखी नै भागबण्डामा केन्द्रित भएको दलले दुई तिहाई जनमत प्राप्त गर्दापनि उल्टै प्रतिनिधी सभा विघटन गरेर नागरिकको भावना माथि कुठारघात गरेको गुरुङको भनाई छ ।

नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक तथा स्वेच्छाचारी रुपमा संसद भंग गरेर गलत काम गरेको बताउनु भयो । नेपाली जनताले ठुलो त्याग,तपस्या र आन्दोलन गरेर ल्याएको व्यवस्था मासेर ओलीले भष्मासुर प्रवृति देखाएको उहाँको भनाई छ ।

कार्यक्रममका प्रमुख अतिथी समेत रहेका गुरुङले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान माथि प्रहार भइरहँदा काँग्रेसले टुलुटुलु हेरेर नबस्ने बताउनु भयो । ‘अहिले गरिएको संवैधानिक कू काँग्रेसलाई स्विकार्य छैन । काँग्रेसले मुल्य र मान्यताको राजनिति गर्छ । हामी चुप लागेर बस्दैनौँ,’उहाँले भन्नुभयो । उहाँले कोरोना कहरले जर्जर बनेको बेला कम्युनिष्ट सरकार भष्ट्राचारमा लिप्त हुँदा मुलुक फेरी राजनितिक अस्थिरता तर्फ बढेको बताउनु भयो ।

उक्त कार्यक्रममा नेकपा परित्याग गरि एक दर्जन भन्दा बढि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति ११ माघ २०७७, आईतवार ०२:४७