नेकपाको विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

माघ १२, काठमाडौँ । निर्वाचन आयोगले नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड–माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ।आज बसेको पार्टीको स्थायी कमिटि बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो। यता प्रचण्डमाधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

प्रकाशित मिति १२ माघ २०७७, सोमबार ०१:०१