प्राकृतिक स्रोत तथा वित्ति आयोग र कुश्मा नगरपालिका बिच अन्तरक्रिया

माघ १२, पर्वत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुश्मा नगरपालिका संग अन्तरक्रिया गरेको छ । कुश्मा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र आयोगका कर्मचारीहरुका बिचमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा वित्तिय संघियता , कुश्मा नगरपालिकाले प्राकृतिक स्रोतको उपयोग, संरक्षण, राजस्व बाँडफाँट, रोयल्टीको समानुपातिक वितरण लगायतका विविध विषयमा छलफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव महेश भट्टराईले वित्तिय संघियताको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । उहाँले मुलुकको समृद्धि प्राकृतिक स्रोतको समूचित उपयोगबाट मात्र संभव रहेको बताउनुभयो । अन्तर सरकारी वित्त ऐन २०७४ को नीति नियमका बारेमा पनि भट्टराईले जानकारी गराउनुभयो । उहाँले आन्तरिक आय बृद्धि गर्ने कुरामा विशेष ध्यान दिन जनप्रतिनिधी र कर्मचारीलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी र कर्मचारीहरुले सुझावहरु प्रस्तुत गर्नुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय तह स्वयत्त हुन नसकेको गुनासो गर्नुभयो । संघ र प्रदेशले स्थानीय तहको क्षेत्राधिकारमा हस्ताक्षेप गरेको भन्दै जोशीले प्राकृतिक स्रोत र वित्त व्यवस्थापनमा संघ र प्रदेश सरकारको दादागिरी कायमै रहेको जिकिर गर्नुभयो । जोशीले प्राकृतिक स्रोतको उपयोग नै राजस्वको मूख्य स्रोत भएपनि पुरानै खाले प्रबृति र सोच हाबी हुँदा स्रोतको परिचालन प्रभावकारी हुन नसक्नुको मूख्य कारण रहेको चर्चा गर्नुभयो ।

नगरउपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सीता काफ्ले लामिछानेले आन्तरिक आय बढाउन विज्ञहरुका राय अनुसार नगरपालिकाले योजनाबद्ध रुपमा काम गरेको जानकारी गराउनुभयो । आयोगले राजस्व बाँडफाँटमा न्यायसंगत ढंगको व्यवहार नगरेको लामिछानेले गुनासो गर्नुभएको थियो । उहाँले कुश्मा नगरपालिकामा प्रत्येक वर्ष बजेट बनाउनु अगाडी नै भावी कार्ययोजना बनाएर काम गर्दै आएको अवगत गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने आयोगलाई महत्वपूर्ण सुझाव पनि दिनुभएको छ । पंगेनीले संघ, प्रदेश र स्थानीय तहका बिचमा काम गराई र बजेट कार्यान्वयनमा समन्वयको अभाव रहेको बताउनुभयो । एउटा कार्यलयमा कार्यक्रमको अख्तियारी दिने र अर्को निकायले मुल्यांकन गर्नुपर्ने बाध्यता हुँदा काममा अलमल रहेको पंगेनीको गुनासो थियो । उहाँले गतवर्ष कोभिडका कारण अनुमानित राजस्व संकलनको लक्ष्यमा बाधा व्यवधान देखिएको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिका १ का अध्यक्ष देबेन्द्र सुबेदी, कुश्मा नगरपालिका ३ का अध्यक्ष तेजप्रसाद पाध्या, कुश्मा नगरपालिका ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने, कुश्मा नगरपालिकाका कर्मचारी उत्तम पौडेलले आयोगलाई आफ्ना सुझाव राख्नुभयो । कार्यक्रममा आयोगका उपसचिव दिनेश भट्टराईले विषयवस्तुहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति १२ माघ २०७७, सोमबार ०१:३४