पर्वतमा आयो कोरोना खोप : १२ सय ३१ जनालाई खोप लगाईने

माघ १३, पर्वत । कोरोना बिरुद्धको खोप पर्वतमा पनि आईपुगेको छ । पर्वतमा १३ सय ५० डोज खोप उपलब्ध भएको पर्वत अस्पतालले जनाएको छ । जिल्लामा कोरोना बिरुद्धको खोप लगाउने अभियान माघ १४ गते बुधबार बाट शुरु गरिँदै छ ।

जिल्लामा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई मात्रै खोप लगाईने भएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वत जिल्लामा १२ सय ३१ जनालाई खोप लगाउने तयारी छ । माघ १४ देखि १८ गते सम्म लक्षित व्याक्तिलाई खोप लगाईसक्ने गरि तयारी रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय पोखराले जिल्लाले पठाएको तथ्यांक अनुसार प्रदेश सरकारले पर्वतमा आज दिउँसो खोप पठाएको हो । प्राप्त भएको खोपलाई स्वास्थ्य कार्यालयको कोलचेन सेण्टरमा राखिएको छ । पर्वत अस्पतालमा एउटा बुथ बनाएर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खोप लगाउने तयारी रहेको छ । पर्वतमा संक्रमितको संख्या ३ सय ६७ पुगेको छ । अहिलेसम्म ३ सय ५१ जना निको भैसकेका छन् भने १३ जना संक्रिय संक्रमित रहेको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कोरोनाको खोप जिल्लामा भित्रिएपछि कोरोनाको त्रास कम हुने अपेक्षा छ । यद्यपी प्रर्याप्त मात्रामा खोप नआउञ्जेल सम्म भने सचेत र सजग हुनुपर्ने आवश्यकता भने रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार ००:५७