फलेवास नगरपालिकाका सबै वडामा सुबिधा सम्पन्न भवन बनाउँछौँ -नगर प्रमुख शर्मा

माघ २५, फलेवास । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा वडा कार्यालय भवनको शिल्यान्यास गरिएको छ । कुर्घा पिपल डाँडामा निर्माण हुन लागेको भवनको नगर प्रमुख पदमपाणि शर्माले शिल्यान्यास गर्नुभएको हो । ७९ लाख लागतमा बन्न लागेको भवनमा पाँच वटा कोठा हुनेछन् ।
वडा कार्यालयले भवन निर्माणका लागि साढे दुई तलको डिपिआर तयार गरेको थियो । तत्कालको आवश्यकतालाई मध्येनजर गदै एक तल भवन निर्माण गर्न लागेको वडा अध्यक्ष शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । हाल पुरानो भवनबाट सेवा प्रवाह गदै आएको बताउँदै वडा अध्यक्ष पौडेलले नयाँ भवन सँगै सेवा प्रवाह छिटो छरितो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
भवन आगामी असार मसान्तभित्र सक्ने सम्झौता पाएको बिएमए निर्माण सेवा कम्पनीका प्रमुख सुनिल क्षेत्रीले आगामी बैशाख महिना भित्र निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गनुभयो छ ।
भवन शिल्यान्यासका क्रममा बोल्दै नगर पमुख शर्माले आफ्नो कार्यकाल भित्र नगरका ११ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गर्ने बताउनु भयो । ‘अब मेरो कार्यालय करिव डेढ बर्ष छ, यो अवधीमा नगरका सबै वडामा सुविधा सम्पन्न वडा भवन निर्माण गर्छु,’नगर प्रमुख शर्माले भन्नुभयो,‘वडा कार्यालय सँगै नगरपालिकाको प्रशासकिय भवन पनि निर्माण हुन्छ ।’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शर्माले नगरपालिका स्थापना पछिको पहिलो कार्यालय आफ्नो भएकाले पूर्वाधार विकासमा जोड दिएको बताउनु भयो । उहाँले भवन निर्माणको कार्य प्रतिबद्धता समय अगाबै सकेमा निर्माण सेवालाई पुरस्कृत गर्ने बताउनु भयो ।
नगरपालिका भित्र चक्रपथ, बाहिरी चक्रपथ निर्माण कार्य सकिन लागेको भन्दै नगर प्रमुख शर्माले विकास निर्माणका कार्य अन्य पालिकामा भन्दा आफ्नो पालिकामा भएको दाबी गर्नुभयो । कालीगण्डकी जलाशय युक्त परियोजना निर्माणका लागि फलेवास नगरपालिकाले पहल गरेको भन्दै शर्माले परियोजना सम्पन्न भएमा पर्वतसँगै बागलुङ र गुल्मी जिल्ला प्रत्यक्ष लाभान्वित हुने बताउनु भयो ।


फलेवास नगरपालिका कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले नगरपालिकाले पूर्वाधार निर्माण सँगै सडक, खानेपानी, सिँचाई लगायतका काममा जनताले प्रत्यक्ष महशुस गर्ने गरि काम गरेको दाबी गनुभयो ।
वडा अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा नेकपा पर्वतका जिल्ला सचिवालय सदस्य प्रेम बहादुर राना, नेकपा फलेवास नगरपालिका सचिव शोभा क्षत्री, नेकपा फलेवास नगरपालिका–१० अध्यक्ष खडक बहादुर पौडेल क्षत्री, नेपाली कांग्रेस वडा सभापति अम्मर बहादुर क्षत्री, पर्वत उधोग बाणिज्य संघका कार्यसमिति सदस्य मीन प्रसाद शर्मा, वडा कार्यलयको जग्गा व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । वडा सदस्य गोबिन्द बहादुर क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संचालन वडा सचिव जय बहादुर श्रेष्ठले गर्नुभएको थियो ।

धमाधम वडा कार्यालय निर्माण हुँदै
फलेवास नगरपालिकाले धमाधम वडा कार्यालय भवन निर्माण गर्न थालेको छ । फलेवास नगरपालिका–१ कार्कीनेटा र ४ मुडिकुवा र ६ देविस्थानमा सुविधा सम्पन्न भवन निर्माण भईसकेको छ । उक्त कार्यालयवाट सेवा प्रदान गरिसकिएको छ । त्यस्तै फनपा–२ थापाठाना र ९ भँगरामा भवन निर्माणको क्रममा रहेको नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शंकरपोखरी र पाङराङमा भवन शिल्यान्यासको तयारीमा रहेका छन् । अन्य वडामा भवन निर्माणको तयारीमा रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार १६:००