दुर्लुङमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, नगरको शैक्षिक गुणस्तरका प्रतिवद्ध छु–मेयर जोशी

  • पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले नगरको शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन उद्देश्य र लक्ष्यमा साथ अगडी बढेको बताए । नेपाल विद्यार्थी संघ सुर्य प्रकाश मा.वि दुर्लुङले मंगलवार आयोजना गरेको हाजिरजवाफ प्रतियोगिता कार्यक्रमको उद्घाटन गदै मेयर जोशीले  समयानुकूल परिवर्तन र सुधारका लागि सबै पक्षबाट सहयोग अपरिहार्य रहेको बताए । उहाँले नगरको शैक्षिक सुधारका लागि सबैबाट सकारात्मक सुझाव र हार्दिकतापूर्ण सक्रियताको खाँचो औंल्याउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षाका लागि अधिकारभन्दा पनि कर्तव्य प्रति शिक्षकवर्ग सचेत रहनु पर्नेमा जोड दिए । उहाँले नेवि संघले विद्यार्थीहरुको संगठन भएकाले विद्यार्थीहरुको हक हितमा काम गर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सिता काफ्ले लामिछानेले कुश्मा नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनिय काम गरेको दावी गरिन् । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी संख्या नै शिक्षक कर्मचारीका लागि पेशागत सुरक्षाको चुनौति बन्दै गएकाले अब शिक्षक गम्भीर र सक्रियता पूर्वक विद्यालयमा बढी रहनु पर्ने बताईन । शैक्षिक गुणस्तर बढाउन अब शिक्षकवर्ग आफै सक्रिय हुनु पर्ने र प्राविधिक दक्षता वृद्धिका लागि लाग्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सदस्य कुलप्रसाद उपाध्याय, नेपाली काङ्ग्रेसका युवा नेता  राजकुमार क्षेत्री,नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, विद्यालयका अध्यक्ष लेखनाथ पौडेल, नेवि संघ पर्वतका सचिव बरदान पौडेल, विद्यार्थी नेता शिशिर शर्मा पौडेल नेपाल विद्यार्थी संघ कुश्मा नगरका संयोजक अजय पोखरेल, पैयु संयोजक भरत भुसाल , महाशिला संयोजक विशाल नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल विद्यार्थी संघ सुर्य प्रकाश मा.विका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य देवका शर्मा धन्यवाद मन्तव्य श्यामसुन्दर सापकोटा र कार्यक्रमको संचालन सध्या शर्माले गर्नुभएको थियो । त्यस्तै विद्यार्थीहरुको बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरेको हाजिरजवाफ प्रतियोगितामा  आदर्श अंग्रेजी मा.वि पहिलो, नारायण मा.वि दोस्रो र राष्ट्रिय शिक्षा सदन तेस्रो भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ४ हजार, ३ हजार र १५ सय र प्रमाणपत्र वितरण गरिएको छ ।  कार्यक्रममा ९ समुहको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति ८ माघ २०७५, मंगलवार १४:१०