पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा शिव शर्मा पौडेलको उम्मेदवारी

फागुन २१, पर्वत । उद्योग बाणिज्य संघ पर्वतको आगामी नेतृत्वका लागि जिल्लाका सफल व्यवसायी शिव शर्मा पौडेलले उम्मेदवारी घोषणा गरि चुनावी प्रचार शुरु गर्नुभएको छ । आगामी चैत्र ७ गते हुने १७ औँ अधिवेशनबाट अध्यक्ष बन्नका लागि उहाँले प्राजातान्त्रिक, व्यावसायिक तथा साझा समुहबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनुभएका पौडेल शितल डेरी उद्योगका सञ्चालक हुनुहुन्छ । उहाँ वर्तमान कार्यसमितिको सदस्य रहनुभएको छ । अघिल्लो कार्यकालमा उद्योग उपाध्यक्ष रहनुभएको छ । उद्योगी व्यवसायीहरुको हकहितमा बिगत २२ वर्ष देखि क्रियाशिल उहाँले आगामी निर्वाचनमा विजयी गराउन उद्योगी व्यवसायीलाई अनुरोध गर्नुभएको छ । सबै उद्योगी व्यवसायीहरु संग आफ्नो सौहार्द सम्बन्ध रहेको र व्यवसायीका समस्याहरु समाधान गर्न प्रतिबद्ध रहने बाचा सहित घरदैलोमा मत माग्न जुटेको पौडेलले बताउनुभयो । पौडेल सहित जिल्लाका राम्रो प्रभाव पार्ने टोलीहरु चुनावी प्रचारमा जुटेका छन् ।

यता नेकपा दुई समूहका विभाजित भैरहेका बेला उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा एकल उम्मेदवारको रुपमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिकारीले आज नेकपाका ओली समूह र प्रचण्ड माधव समूहका नेताहरुलाई साच्ची राखेर आगामी कार्याकालका लागि अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुभएको हो । अधिकारी फर्निचर उद्योगका सञ्चालक गोपी अधिकारी वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । अधिकारीलाई दुबै समूहले समर्थन गर्ने बाचा गरेपछि आज एक कार्यक्रमका बिच उम्मेदवारी घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति २२ फाल्गुन २०७७, शनिबार १२:५०