प्रजातान्त्रिक प्यानलको प्रचार–प्रसारमा तिव्र

फागुन २३, पर्वत । निजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघ पर्वतको नयाँ नेतृत्वका लागि प्राजातान्त्रिक, व्यावसायिक तथा साझा समुहबाट उम्मेदवारी घोषणा गर्नुभएका शिव शर्मा पौडेल सहितको टोलीले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । पर्वत उद्योग बाणिज्य संघको नेतृत्व आफ्नो पाल्टामा पार्नलाई प्रजातान्त्रिक समुहले चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम संचालन गरेको हो । पर्वत उद्योग वाणिज्य संघको निर्वाचन आगामी चैत्र ७ गते हुने १७ औँ अधिवेशनबाट हुनेछ ।
टोलीले आज कुश्मा बजारका प्रत्येक पसल पसलमा गएर प्रजातान्त्रिक प्यानललाई भोट मागेको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनुभएका पौडेल शितल डेरी उद्योगका सञ्चालक हुनुहुन्छ । उहाँ वर्तमान कार्यसमितिको सदस्य रहनुभएको छ । अघिल्लो कार्यकालमा उद्योग उपाध्यक्ष रहनुभएको छ । उद्योगी व्यवसायीहरुको हकहितमा बिगत २२ वर्ष देखि क्रियाशिल उहाँले आगामी निर्वाचनमा विजयी गराउन उद्योगी व्यवसायीलाई अनुरोध गर्नुभएको छ । सबै उद्योगी व्यवसायीहरु संग आफ्नो सौहार्द सम्बन्ध रहेको र व्यवसायीका समस्याहरु समाधान गर्न प्रतिबद्ध रहने बाचा सहित घरदैलोमा मत माग्न जुटेको पौडेलले बताउनुभयो ।


पौडेल सहित जिल्लाका राम्रो प्रभाव पार्ने टोलीहरु चुनावी प्रचारमा जुटेका छन् । यस पटक नेपाली कांग्रेसले बलियो र व्यवसायको हकहितमा काम गदै आएका उम्मेदारलाई उद्योग वाणिज्य संघको नेतृत्वका लागि उठाएको बजारवासी व्यवसायीको भनाईछ । प्रजातान्त्रिक प्यानललाई जिताउन पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले समेत प्रचार प्रसारमा सक्रियता देखाएका छन् । उक्त समुहले भोली (सोमवार) पनि कुश्मा बजारका व्यवसायीलाई भेट्ने तथा चुनाव प्रचारप्रसारमा जोड दिने बताएको छ । व्यवसायीहरुले पौडेलको प्यानलाई भोट हाल्ने प्रतिवद्धता गरेका छन् ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार १३:२४