व्यवसायीहरुको गुनासो र समस्या सुन्न पउवा संघका अध्यक्ष पदका उम्मेदवार पौडेल घरघरमा

फागुन २५, पर्वत । पर्वत उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्र पारेका छन् । निजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघ पर्वतको नयाँ नेतृत्व आफ्नो पाल्टामा पार्नका लागि प्राजातान्त्रिक, व्यावसायिक तथा साझा समुहबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शिव शर्मा पौडेल सहितको टोलीले चुनावी प्रचारप्रसार तथा भेटवार्ता गर्नुभएको छ ।
पौडेल नेतृत्वको समूहले आज कुश्मा बजारका विभिन्न वडामा पुगेर व्यवसायीका समस्या र गुनासो संकलन गरेको छ । व्यवसायीहरुले पर्वत उद्योग वाण्ज्यि संघ व्यवसायीको हकहितमा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाएका थिए । एक व्यवसायीले भने,‘उद्योग वाणिज्य संघको निर्वाचनमा भोट माग्न आउँदा साँसदले भन्दा ठुलो सपना देखाउँछन् । तर, सानो समय लिएर जाँदा बेवास्ता गर्छन्,।’ ‘पटक– पटक हुने निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई जिताउन नसक्दा व्यवसायीहरुले दुःख पाउनु प¥यो,’उनले भने । भोट माग्ने क्रममा व्यवसायीहरुले उद्योग वाणिज्य संघको विषयमा गुनासो मात्र सुनाएका थिए ।
उद्योग वाणिज्य संघको निर्वाचन आगामी चैत्र ७ गते हुने भएको छ । व्यवसायी सँग पौडेलले बिगत २२ वर्ष देखि उद्योगी व्यवसायीहरुको हकहितमा क्रियाशिल रुपमा काम गदै आएको भन्दै निर्वाचनमा विजयी गराउन उद्योगी व्यवसायीलाई अनुरोध गर्नुभयो । घरदैलो अभियानपछि अध्यक्ष पदका उम्मेदवार पौडेललाई उद्योगीब्यापारीहरु र वस्तुगत संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने बचन दिएका थिए । पौडेलले अन्य उमेदवारले जस्तो आफुले ठूला योजना र महत्वकांक्षी आश्वासन भन्दा पनि ब्यवसायीको हक हितलाई प्रथामिकतामा दिएकोले आफ्नो पक्षमा उद्योगी ब्यापारीहरुले मत दिने दाबी गर्नुभयो ।


उहाँले व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्दै लेखा प्रणाली सम्बन्धी ऐन नियम बारे जानकारी गराउन कार्यक्रम सञ्चालन गर्ने, सदस्यको हित संरक्षण र दक्षता विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी अघि बढ्ने उल्लेख गर्नुभएको छ ।
पौडेलले व्यवसायलाई समय सापेक्ष बनाउन प्रविधिको सहारा लिँदै अनलाइन सेवा सञ्चालन गर्ने र सचिवालयलाई प्रविधियुक्त बनाउने, उद्योग व्यवसायमा समस्याका रुपमा देखिँदै आएको व्यवसायी–मजदुर बीचको सम्बन्ध सुधार र विवाद समाधानलाई प्राथमिकतामा राख्ने, युवा उद्यमी मञ्च र महिला उद्यमीको भूमिकालाई अझै प्रभावकारी बनाउने, राष्ट्रिय र अन्तराष्ट्रिय उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध गाँसेर अनुभव आदान प्रदान गरी उद्यमशीलता विकासका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार १४:५०