पर्वतमा तिन माओवादीको एउटा कार्यालय, फरक–फरक बोर्ड राखेर आ–आफ्नो दावी

फागुन २७, पर्वत । अदालतले नेकपा विभाजन भएको फैसला सुनाएको एकदिन पछि नेकपा माओवादी केन्द्रले कुश्माबजार स्थित लव्लीडाँडामा रहेको कार्यालयमा बोर्ड टाँसेर खुल्ला भएको घोषणा ग¥यो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गुप्तबहादुर हमाल, प्रदेश कमिटि सदस्य मनरुपा सुवेदी र जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरी लगायतको उपस्थितिमा कार्यालय खुल्ला गरिएको घोषणा गरिएको थियो ।
त्यसको केही समयपछि नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्व र मोहन बैद्य निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा आफ्ना छुट्टाछुट्टै ब्यानार टाँगेर कार्यालय स्थापना भएको घाोषणा गरे । एउटै भवनमा तिन वटा पार्टीले छुट्टाछुट्टै ब्यानार टाँसेर आ–आफ्नो दावी गरेपछि उक्त भवनका विषयमा फेरी विवाद शुरु भएको छ ।
जिल्लाको कुश्मा नगरपालिका–५ लभ्लीडाँडामा रहेको उक्त साढे दुईतले भवन व्यक्तिका नाउँबाट भोगचलन, बन्धक राख्ने वा बेचबिखन गर्न तम्सीएको भन्दै मोहन बैद्य निकट देशभक्त जनगणतान्त्रिक मोर्चा र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतले भवनलाई सहिद प्रतिष्ठान भवनका रुपमा नामाकरण गर्न र सहिद परिवारको नाउँमा ल्याउन आग्रह गदै आएको छ ।
यता माओवादी केन्द्रले भवन आफ्नो भएको दावी गरेको छ । बुधवार बोर्ड टाँसेसँगै माओवादी केन्द्र पर्वतले जिल्ला कमिटि र सबै भातृ संगठनका गतिविधिहरु पूर्ववत रुपमा पार्टी कार्यालयवाट संचालन हुने दावी गरेको छ । तर अन्य माओवादीहरुले पार्टीको बोर्ड राखेपछि उक्त कार्यालय संचालन हुन सकेको छैन । माओवादी साविकको अवस्थाबाट फुटेर ४ वटा बनेको छ । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र बाहेक वैद्य, विल्लब र बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी अहिले अस्तित्वमा छन् ।

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार १२:५३