नदीको ढुङ्गा निकाल्दा बेनीबजार जोखिममा, प्रशासन मौन

फागुन २८, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा नदीले सडक कटान गरेपछि संरचनाको बाहनामा नदीबाट एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुङ्गालाई बगिरहेको नदीबाटै भारी मेसिनको प्रयोग गरी टुक्राटुक्रा पारिएकोछ । बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वरमा गतबर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको अवस्थामा तारजालीको अस्थायी तटबन्धनका लागि अन्यत्रबाट ढुङ्गा ल्याएर काम गर्नुपर्ने अवस्थामा बजेट अभाव भन्दै एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा निकालेर जाली भर्ने प्रयोग गरिएको छ । सोही स्थान नजिकै बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहन भइरहेको छ। नदी उत्खनन्मामा सहज हुने गरी हेभी इक्युभमेन्ट पुग्ने गरी सडक समेत बनाइएको छ। उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणको बाहनामा ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम बेनीबजारको कालिपुल क्षेत्र थप जोखिममा परेको छ ।

दैनिकजसो संरक्षणका बाहनामा नदीको बेग रोक्न सक्ने गरी बसेका ढुङ्गा निकालिदाँ समेत सरोकारवाला निकाय मौन बसेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले अवरोधको प्रयास गर्दा समेत सरोकारवाला निकायको आडमा ठेकेदार कम्पनीले हेभी इक्युभमेन्ट नै नदीमा लगेर ढुङ्गा फुटाइरहेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र सम्बन्धित कार्यालयसँग भएको सम्झौता बिपरित नदीको उत्खनन्मा हुने गरेको भन्दै रोक्न पटकपटक अनुरोध गर्दा समेत सुनुवाई नभएको स्थानीयको गुनासो छ । आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार २३:४२