नेपाल शिक्षक संघ पर्वतको प्रतिनिधीसभा वैठक कुश्मामा सम्पन्न

फागुन २९, पर्वत । नेपाल शिक्षक संघ पर्वतको २२ औँ तथा २५ औँ जिल्ला प्रतिनिधीसभा सम्पन्न भएको छ । जिल्ला प्रतिनिधीसभामा शिक्षकहरुको समस्या, राज्यले शिक्षकहरुलाई गरिरहेको व्यवहार, शिक्षक संघको आगामी रणनीतिका बारेमा छलफल भएको छ । यस्तै शिक्षक पेशाबाट राजनीतिमा लागेका नेताहरुलाई सम्मान गरिएको छ भने स्थानीय निकायमा रहेको संघको कार्यसमितिलाई प्रसंसापत्र वितरण गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले शिक्षकहरुलाई राज्यले सौतानी व्यवहार गरेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुका हरेक समस्याको समाधानका निम्ति आँफुले काँध थाप्ने बताउनुभयो । शिक्षकहरुलाई राज्यले जहिले पनि सौताने व्यवहार गर्दै आएको बताउँदै जोशीले शिक्षकहरुलाई राज्यको अंगका रुपमा व्यवहार गर्नुपर्ने कुरामा जोड दिनुभयो । राजनीतिक आस्थाका आधारमा शिक्षकहरुलाई पेल्ने काम भएमा डटेर सामना गर्न आग्रह गर्दै जोशीले आफ्नो पेशा लाई मर्यादित रुपमा ग्रहण गरि काम गर्न शिक्षकहरुलाई निर्देशन पनि दिनुभयो । जोशीले शिक्षकहरुको पेशागत सुरक्षाका लागि नेपाली काँग्रेस संधै जुटेको र आगामी दिनमा पनि जुट्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष केशवप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका संघीय कार्यसमितिका उपाध्यक्ष भरत शर्मा लम्साल, नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछाने, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाई, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, शिक्षक संघका पूर्व राष्ट्रिय उपाध्यक्ष बसन्त सिके, पूर्व राष्ट्रिय उपाध्यक्ष किशोरदत्त बराल, स्याङजाका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, बागलुङका उपाध्यक्ष उमाकान्त पौडेल, कास्कीका सचिव राजु क्षेत्री, लमजुङका अध्यक्ष शिव अधिकारी, कुश्मा नगरपालिकाको नगर शिक्षा अधिकारी राजेन्द्रवहादुर क्षेत्री, शिक्षक संघका पूर्व केन्द्रिय प्रतिनिधी गंगाराज शर्मा, शिक्षक संघ पैयुँका अध्यक्ष पिताम्बर न्यौपाने, महाशिलाका अध्यक्ष भीमवहादुर क्षेत्री, जलजलाका अध्यक्ष भवानीशंकर पौडेल, फलेवासका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, कुश्मा नगरपालिकाका अध्यक्ष बालकृष्ण शर्माले आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा पूर्व शिक्षकका पेशामा रहेर अहिले राजनीतिमा सक्रियपूर्वक लाग्नुभएका नेताहरु ऋषिकेश तिवारी, गंगाराज शर्मा, रुद्रबहादुर रिमाल, राधाकुमारी कुँवर क्षेत्री, रामवहादुर प्रसाइ, रेखा गुरुङ र चित्रकला शर्मालाई सम्मान गरिएको छ ।

जिल्लाका सातै पालिकामा सक्रिय रहेका नेपाल शिक्षक संघका पालिका समितिहरुलाई प्रसंसापत्र वितरण गरिएको थियो । कार्यक्रमको उपाध्यक्ष गोबिन्द पोखरेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव यज्ञनाथ बास्तोलाले गर्नुभएको थियो ।

प्रकाशित मिति २८ फाल्गुन २०७७, शुक्रबार २३:२६