वडा कार्यालय भवन बनाउन निशुल्क जग्गा दान

चैत्र १, पर्वत । पर्वतको बिहादी गाउँपालिका १ बाच्छामा वडा कार्यालयको भवन बनाउन स्थानीय समाजसेवीले जग्गादान गर्नुभएको छ । साविकको बाच्छा गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी भोलानाथ शर्माले वडा कार्यालय भवन निर्माणका लागि जग्गादान गर्नुभएको हो । शर्माले १५ आना क्षेत्रफलको १५ लाख बराबरको जग्गा वडा कार्यालयको भवन बनाउन निशुल्क उपलब्ध गराउनुभएको वडाध्यक्ष हेमनाथ आचार्यले जानकारी दिनुभयो ।

कालीगण्डकी लोकमार्गले छुने उक्त जग्गा साविकको बाच्छा गाविस ३ मा पर्छ । अहिले रहेको वडा कार्यालयको भवन संगै रहेको जग्गा शर्माले प्रदान गर्नुभएको हो । वडाध्यक्ष हेमनाथ आचार्यले भवन बनाउन जग्गा प्राप्त भएपछि बजेटको माग गरिने बताउनुभयो । अहिले सम्म वडा कार्यालयको व्यवस्थित भवन नभएको हुनाले वडा कार्यालयले नयाँ भवन बनाउन जग्गाको खोजी गरिरहेको थियो । जग्गादान गर्ने दातालाई वडाले एक कार्यक्रम गरि सम्मान गर्ने जनाएको छ ।

जग्गादाता अहिले जिल्लाबाहिर रहेकाले उहाँ आएपछि सम्मान गर्ने कार्यक्रम बनाएको वडाध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति १ चैत्र २०७७, आईतवार ०१:४४