ओलीलाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्छ : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ। कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिनुभएको हो ।
पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले उनको प्रवृत्ति छर्लङ्ग भएको पौडेलेको भनाइ थियो । अब पनि ओलीलाई सरकारमा टिकिरहन दिए बर्मामा भन्दा ठूलो दुर्घटना घट्ने पौडेलले बताउनु भयो ।

‘हिजो संसद् विघटन हुनबाट जोगायौं । अब ओलीवादबाट बचाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘संविधानमा मात्रै प्वाल पारेर नभएर अहिले आफ्नै पार्टी विधान जलाउने काम जसरी ओलीले गरेको छन् । भोलि देशको व्यवस्थामाथि नै ‘कु’ नगर्लान् भन्न सकिँदैन ।’ पार्टीको महाधिवेशनमा विजयी भएर जिम्मेवारी पाएका नेताहरुको अधिकार खोस्नेले मुलुकका विरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने उहाँको भनाई थियो । देशमा संकट गहिरिएका बेला कांग्रेस सत्ताको जोडघटाउमा लाग्न नहुने नेता पौडेलले वताउनु भयो । ‘कांग्रेस अहिले सत्ता चाहियो भनेर लाग्ने होइन,’ उहाँले भन्नुभयो, ‘पहिला ओलीलाई हटाउनुपर्‍यो । त्यसका लागि कुन पार्टीसँग मिल्नुपर्छ । कस्तो आन्दोलन गर्नुपर्छ । कांग्रेस तयार हुनुपर्छ । यो कुरा मैले सभापतिज्यूलाई पनि भनेको छु ।’

सभापति देउवा अहिले नै नेतृत्व लिन हतारिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले सहज परिस्थिति आएमा कांग्रेसबाट नेतृत्व लिने व्यक्तिमा विवाद नरहेको स्पस्ट पार्नुभयो । ‘पार्टी सभापति र संसदीय दलको नेता देउवाजी नै हो,’नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना भयोभने देउवानै प्रधानमन्त्री हो । – बरिष्ठ नेता पौडेलले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई पहिलो पार्टी बनाउने अभियान बोकेर आफू रातदिन कार्यकर्ताको घर आगनमा पुगेको वताउँदै आगामी निर्वाचनमा स्थानीय तहदेखि प्रदेश र संघमा पनि नेपाली कांग्रेसको बहुमत आउने दावी गर्नुभयो । नेता जोशीले कम्युनिस्टहरूबाट जनताहरू आजित भइसकेकोले अब गाउँ गाउँमा पुगेर कार्यकर्ताको मनोबल उठ्नेगरि संगठन सुदृढीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो । नेता जोशीले पछिल्लो निर्बाचनमा भएको हारले पनि आफूलाई र पार्टीलाई नयाँ शिक्षा दिएको वताउँदै हारलाई पनि एउटा अवसरमा परिणत गरेर पार्टीलाई थप मजवुत बनाउन गाउँगाउँमा पुग्नुपर्ने र कार्यकर्ताको भावना बुझेर काम गर्नुपर्ने उहाँको जोड थियो । उहाँले मुलुक र लोकतन्त्र ओली अतिवादको चपेटामा परेको भन्दै कम्युनिष्टको भ्रममा परेर मतदान गरेको पीडा अहिले जनताले महशुस गरेको दावी गर्नुभयो । नेता जोशीले पार्टीमा कहिलेकांहि विचारको विवाद हुने भएपनि अब पर्वत कांग्रेस एकतावद्ध भएर जनताको विचमा जाने वताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रत्न शेरचन, प्रतिनिधि सभाका सदस्य लालकाजी गुरुङ,नेपाली कांग्रेसका पुर्व सभापति नवराज गुरुङ, पूर्व सांसद एवं मुख्य सचिव ऋषिकेश तिवारी, प्रदेश सभा सदस्य ललितकला गुरूङ, पैयु गाउंपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, काँग्रेसका नेताहरु डाक्टर चूडामणि शर्मा, रामबहादुर प्रसाई, शिवप्रसाद सुवेदी र सरस्वती शर्मा जिज्ञासु लगायतले वोल्नु भएको थियो ।

नेपाली काँग्रेसका उपसभापति दुर्गा बहादुर खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेसका कोषाध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव विश्व प्रकाश प्रसाई र धन्यवाद मन्तव्य सचिव अशोक उचै ठकुरीले गर्नुभएको थयो । अन्तरकृया कार्यक्रममा सहभागीहरुले पार्टी संचालनको पद्धतिको वारेमा जिज्ञासा राखेका थिए

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार ०१:२०