एजेण्डाविहिन भएपछि मतदाता भड्काउँदै अधिकारी समूह

पर्वत । उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका व्यावसायीहरु एकले अर्काको आलोचनामा उत्रिन थालेका छन् । निर्वाचनको प्रचारप्रसारमा उत्रिएका गोपी अधिकारी प्यानलले दक्षिणी पर्वतमा शिव शर्मा पौडेल प्यानलले अघि सारेका चुनावी एजेण्डाको प्रतिवाद गरेको छ । शिव शर्मा पौडेल समूहले उद्योग वाणिज्य संघका प्रत्येक सदस्यको १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने एजेण्डा अघि सारेको छ । उक्त एजेण्डा व्यावसायीहरुले सबैभन्दा बढि रुचाएका छन् । एजेण्डा हेरेर मतदाताले मतदान गर्दै आएका छन् ।

पैयुँ, महाशिला र विहादीका मतदाताहरुले पौडेललाई समर्थन गरेको सुईँको पाएपछि अधिकारी प्यानलले पौडेलले अघि सारेका एजेण्डालाई हावादारी रहेको भन्दै मतदाता भड्काउन कोशिस गरेको छ । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले मतदातालाई १० लाखको दुर्घटना बीमा गरिदिने पौडेलको एजेण्डा हावादारी रहेको दाबी गर्दै मतदाता भड्काउँदै हिँडेको भिडियो सार्वजनिक भएको छ ।

आफ्ना कुनै पनि गतिला एजेण्डा नभएपछि अधिकारी पक्ष अर्को पक्षका एजेण्डाको प्रतिबादमा उत्रिएको पाईएको छ । पौडेलले समूहले संस्थामा सुसासन र व्यावसायमा आधुनिकिकरण भन्ने मुल नाराका साथ उद्योगी व्यावसायीको हकहितमा काम गर्ने गरि चुनावी मैदानमा उत्रिएको छ ।

अधिकारी समूह भने विगतमा झुठा आस्वसनका साथ चुनाव जितेको हुनाले यसपाली पनि जित्ने हल्का हल्ला फैलाएर मतदाता भेट्न पुगेको छ । बिगत ९ वर्ष सम्म एकलौटी नेतृत्व गर्दै आएको बामपन्थी समूहले कुनै एजेण्डा नभएपछि मतदातालाई अर्को समूहका एजेण्डाको प्रतिबाद गर्नमै केन्द्रित भएको देखिन्छ । पूर्व अध्यक्ष हरिओम शर्माको सार्वजनिक भएको भिडियोमा उनले भनेका छन् ,‘ १० लाखको दुर्घटना बीमा गर्ने भए हामीले शिव जी लाई अध्यक्ष बनाउँछौँ । यस्ता हावा कुराको पछि नलाग्नुस । यो हुन सक्दैन । तपाईहरु संग भोट माग्न नआएपनि हुन्थ्यो । यस्तै कुरा सुनेर हामी आएका हौँ ।’ उनको भनाईले के पुष्टि गर्छ भने पौडेलको लोकप्रियता बढेपछि अधिकारी समूह मत माग्न भन्दा पनि मतदाता भड्काउन गाउँ चाहार्न थालेको छ । लामिछानेले आफुहरुको समूहले चुनाव जितेको ३ महिनापछि एजेण्डा बनाउने मतदातालाई आश्वसन दिएका छन् । उनलाई मतदाताले ९ वर्ष सम्म के के काम गरेर देखाउनुभयो भनेर प्रश्नैप्रश्न सोधेका छन् ।

पौडेल समूहले आफ्ना एजेण्डा संग त्रर्सिएर मतदाता भड्काउन थालिएको प्रतिक्रिया दिएको छ । आफ्ना एजेण्डाहरु व्यावसायिक हकहितमा रहेका र व्यावसायीका हितमा काम गर्न खोज्दा उहाँहरुको किन टाउको दुखेको होला भनेर पौडेल समूहले आश्चर्य प्रकट गरेको छ । अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेलले आफुहरु कुनै भावनामा बहकिएर नभई संभव हुने एजेण्डा बोकेर मतदाता सम्म पुगेको जनाएका छन् । उनले आफुहरु कार्ययोजना बनाएर चुनावी मैदानमा उत्रिएको बताउँदै मतदातालाई कुनै पनि भ्रममा नपर्न अनुरोध गरे ।

आगामी चुनाव जित्न उद्योग बाणिज्य संघले यान्त्रिक पुल, बन्जिजम्प र खेलमैदान बनाउन नेतृत्व गरेको अधिकारी समूहले मतदातालाई सुनाउँदै आएको छ । कुश्मामा शिव पार्वतीको मुर्ती बनाउने र जीपलाईन बनाउने उद्योग बाणिज्य संघको योजना रहेको अधिकारी समूहले मतदाता संग पुगेर बताउन थालेको छ । यान्त्रिक पुल, बन्जिजम्प, जीपलाईन निर्माणमा अधिकारी समूहका कोहि पनि सहभागी छैनन । उद्योग वाणिज्य संघको निर्वाचनमा झुठा कुरा सुनाएर मतदाता भड्काउँदै हिँडेकोमा उद्योग बाणिज्य संघका पूर्वअध्यक्षहरुको तिव्र आलोचना भएको छ । अधिकारी समूह भन्दा एजेण्डा र व्यावसायिक हितमा काम गर्नेमा शिव शर्मा पौडेल बलियो देखिएको छ ।

उद्योग वाणिज्य संघको नेतृत्वले महोत्सवको खर्च सार्वजनिक नगरेको, कोषको रकम अनियमितता गरेको तथा अन्य आर्थिक अपचलन गरेको आरोपमा अख्तियारले छानविन समेत गरेको हुनाले चुनावमा उत्रिएका बामपन्थी समूहलाई मतदाता संग पुगेर जवाफ दिन हैरानी भएको छ । ९ वर्ष सम्म एकलौटी नेतृत्व गरेको बामपन्थी समूहलाई अबको निर्वाचनमा जवाफ दिने व्यावसायीहरुको योजना छ ।

उम्मेदवार बनेका गोपी अधिकारी माओबादी केन्द्रका प्रतिनिधी रहेको हुनाले एमाले समूहले खुलेर सहयोग नगर्ने भएकाले शिव शर्मा पौडेललाई भारी मत आउने आकलन गरिएको छ भने नेतृत्वले गरेका खराव कार्यका कारण भड्किएका मतदाता पौडेल तिर नै लाग्ने देखिन्छ । त्यसैले यसपालीको चुनाव वामपन्थी समूहलाई फलामको चिउरा चपाउनु सरह हुने विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति ५ चैत्र २०७७, बिहीबार ००:५९