प्रदेश २ का आठ जिल्लाकाे विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झाैता

काठमाण्डौ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेश नम्बर २ मा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि झण्डै चार अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय ठेक्कामा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच समूहमा विभाजन गरिएको छ ।

आयोजनामार्फत विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका सबस्टेशन निर्माण, नयाँ र उच्च भोल्टेजका प्रसारण लाइनको निर्माण तथा स्तरोन्नति गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंकमार्फत सञ्चालित हुनेछ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ००:१२