उद्योग बाणिज्य संघ निर्वाचनःअधिकारी कुन समुहका उम्मेदवार ?

पर्वत : देशको राजनीतिलाई हेर्ने हो भने एमालेभित्र झगडा छ । समानान्तर कमिटी छन् । एक पक्षले अर्को पक्षलाई छुल्याहा र साइबर सेनाको संज्ञा मात्रै दिएका छैनन् । नजर जुधाउने अवस्था समेत छैन । एमालेको उक्त झगडाले देश नै कहाँ पुग्छ थाहा छैन ।
देशको यहि राजनीतिक परिदृश्यका बिच पर्वतमा शनिबार हुन गइरहेको उद्योग बाणिज्य संघको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवारी दिएका भनिएका गोपी अधिकारीलाई कुन बिचारधाराका आधारमा व्यवसायीले मतदान गर्ने भन्ने अन्योल छ । आसन्न उद्योग वाणिज्य संघ पर्वतको निर्वाचनमा एमालेले आफ्ना उम्मेदवार त पाएन पाएन, वर्गशत्रु ठान्ने अर्को कम्युनिष्ट माओवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेर बाम गठबन्धनका नाममा अफवाह फैल्याएको आरोप स्वयं एमाले निकट ओली र माधव समुहमा आस्था राख्ने व्यवसायीहरुले लगाएका छन् ।
अधिकारीको उम्मेदवारी घोषणामा ओली पक्षका सांसद पदम गिरी पनि उपस्थित भएर तस्बिर खिचाएका थिए । यसअघि २०७४ मा भएको संघिय सांसदको निर्वाचनमा केन्द्रमा ओलीसँग नजिकिने बाटो खोजेर ओलीकै निगाहमा सांसद भएका गिरी जिल्लामा चाहिँ माओवादीको प्रचण्ड सहुका उम्मेदवारसँग घाँटी किन जोडे ? यो प्रश्नको उत्तर व्यवसायीहरुले खोजेका छन् । कुनै बेला प्रचण्डनिकट व्यवासयीको समुहका केन्द्रिय उपाध्यक्ष समेत रहेका अधिकारीसंग कुम जोडेका सांसद् गिरीले उनिबाट के व्यक्तिगत तथा संस्थागत स्वार्थ खोजेका हुन् । त्यो भने निर्वाचनपछि नै उदाङ्गिएला ।
साझा व्यवसायिक प्यानलका उम्मेदवार शिव शर्मा पौडेलले आफु बिजयी भएपछि सबै व्यवसायीको निःशुल्क दुर्घटना बीमा, साना व्यवसायीका लागि व्यवसाय सुदृढिकरण कोष, डिजिटल व्यवसाय, अनलाइन प्रविधिबाट व्यवसाय नविकरण, कर चुक्ता लगायतका प्रतिवद्धता अघि सारेपछि अधिकारी प्यानललाई छट्पटी भएको छ । यहि छटपटी सहन नसकेर उक्त समुहमा भोट माग्दै हिंडेका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले दक्षिण पर्वतको एक गाउँमा पुगेर आफुहरुले उक्त कार्यक्रमको बिरोध गरे । ‘पौडेलले सबै व्यवासायीको बीमा गर्नेभए हामीले गोपीलाई हटाएर उनैलाई अध्यक्ष बनाउँछौं ।’ लामिछानेले पैयुंको एक कार्यक्रममा भनेका थिए । उनको यो भनाइको बिरुद्धमा पैयुंमा एमाले निकट व्यवसायीहरुले नै अहिलेसम्म भइरहेका नेतृत्वको बिरोध गरेका थिए । ‘अहिलेसम्म ३–३ पटक नेतृत्वमा आएर तपाईंहरुले हाम्रा लागि कुन कु्रा सम्बोधन गर्नुभयो ?’ एक व्यवसायीले गरेको यो जिज्ञासा मेटाउने प्रयास गर्दै लामिछानेले भनेका थिए । ‘हामीले चुनाव जितेपछि ३ महिनाभित्र के–के काम गर्ने भनेर प्रतिवद्धता सार्वजनिक गर्नेछौं । त्यो समयको कुरा हो । कति पुरा गर्न सकिन्छ । कति सकिंदैन । समयले बताउला ।’ उनको यस्तो अभिव्यक्ति सुनेसंगै दक्षिणका व्यवसायीहरुले लामो समय नेतृत्वमा रहँदा दक्षिणलाई समेट्न नसकेको, स–साना व्यवसायीको हकहितमा काम गर्न नसकेको, निर्वाचनका बेला घोषणा गरेका बाचा कुनै पनि पुरा नगरेको लगायतका आरोप लगाएका थिए ।
यता बाम गठबन्धनबाट उम्मेदवारी दिएका अधिकारीले माओबादीनिकट केन्द्र र जिल्ला तहसम्मका नेताहरुलाई आफ्नो दलनिकट व्यवसायीको उद्योग बाणिज्य संघमा कुनै अस्तित्व नरहेको र आफु अध्यक्ष भइसकेपछि माओबादीनिकट व्यवसायीको संख्या बिस्तार गर्ने प्रतिवद्धता समेत जनाएका बुझिएको छ । उनलाई अध्यक्ष स्वीकारेका एमाले निकट व्यवसायी अगुवाहरुको अडानका कारण यसअघिको निर्वाचनमा लोकप्रिय मत ल्याएर बिजयी भएका केहि सदस्यहरु समेत यसपाली पछि हट्नुपरेको गुनासो गरेका छन् । केन्द्रजस्तै जिल्लामा समेत ओली र माधव नेपाल समुहमा बिभाजित भएको एमाले निकट केहि व्यवसायीले गोपी अधिकारीको प्यानलमा चाहेर पनि उम्मेदवारी दिन नपाएको सामाजिक सञ्जालमै गुनासो गरेका छन् । एक व्यवसायीले त ‘बिरोधीले हानेको ढुङ्गाले सुन्दर घर बनाएर देखाइदिने’ चुनौती समेत दिएका छन् ।
थोरै मतसंख्या भएको माओबादी निकट व्यवसायीलाई धेरै सदस्य संख्या दिंदा एमालेको अस्तित्व जिल्लामै नरहने भन्दै विगतमा लोकप्रिय मतले बिजयी भएका उम्मेदवारलाई पछि हटाइएको छ । एमालेकै माधव समुहमा आवद्ध व्यवसायी समेत अन्तिम समयमा आएर उम्मेदवारी दिन बञ्चित पारिनुले समेत संघको निर्वाचनलाई लिएर निस्ठावान व्यवसायीले आशंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार १५:४४