पर्वतको राम्जादेउरालीमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल

पर्वत । पर्वतको मोदी गाउँपालिका७ राम्जादेउरालीमा राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रयोगिता आयोजना गरिएको छ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेको हो। अध्यक्ष तिमिल्सिना सोही गाउँको पूर्व गाविस अध्यक्ष हुँदै तत्कालीन जिल्ला विकास समितिको सभापति समेत निर्वाचित भएका थिए।

चैत १३ गतेदेखि १७ गतेसम्म आयोजित गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीले भाग लिने छन्।

खेलमा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरणबहादुर क्षेत्रीले जानकारी दिए।

भलिवल प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्दैछन्।

सो अवसरमा नारीको सम्मान सुन्दर संसारको निर्माण विषयक रत्यौली प्रतियोगिता समेत हुने भएको छ। सँगै डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ। दुवै प्रतियोगितामा प्रथम हुनेले २० हजार पुरस्कार पाउने भएका छन्।

खेल क्षेत्रको विकास गरी प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासेको काखमा रहेको राम्जादेउरालीको पर्यटन विकास र प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता प्रचार प्रसार संयोजक रमेश केसीले जानकारी दिए।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार ००:२७