ट्रेलरमा आयो कृष्णलीला

काठमाडौं । नेपाली चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी २७ चैतमा प्रदर्शन हुन लागेको यो चलचित्रको ट्रेलर साइराम पिक्चर्सको युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
यो चलचित्रको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोह–अवरोह, रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पुष्प खड्का, श्रद्धा क्षत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, भावना गुरुङलगायतलाई समेटिएको छ । यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

दर्शकलाई नयाँ वर्षको कोसेलीस्वरूप आफूहरूले यो चलचित्र ल्याउन लागेको निर्देशक ओलीले बताए । कोरोनाका कारण ठप्प रहेको नेपाली चलचित्र बजारलाई यो चलचित्रले तताउने कथन निर्देशक ओलीको छ ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार ०६:३३