बागलुङमा ३३ प्रतिशत मात्रै विकास खर्च

बागलुङ । बजेट अभावमा कतिपय विकास निर्माण योजना अलपत्र परेको अवस्थामा बागलुङमा भने विकास बजेट खर्च निराशाजनक देखिएको छ । संघ तथा प्रदेशमार्फत जिल्लामा आएको बजेट आर्थिक वर्षको ९ महीना पूरा बित्न लाग्दा पनि खर्च कम देखिन्छ । संघ र प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी लगायत शीर्षकमा आएको पूँजीगत बजेट अपेक्षित रूपमा खर्च भएको छैन ।

संघ र प्रदेश सरकारको स्थानीय तहसँग उचित समन्वय नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको हो । चालू आर्थिक वर्ष सकिन ४ महीना मात्रै बाँकी रहँदा बागलुङमा संघ र प्रदेश सरकारको बजेट जम्मा ३३ दशमलव ८४ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले बताएको छ । यसले नेपालमा असारे विकासको प्रवृत्तिले फेरि पनि निरन्तरता पाउने संकेत देखिएको छ ।

बागलुङमा आर्थिक वर्ष सकिन अबको ३ महीना बाँकी रहँदा संघ सरकार मार्फतको १ अर्ब ५० करोड ९३ लाख ४० हजार बजेटमा जम्मा ५५ करोड ९ लाख ७३ हजार ८३९ खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज ओझाले जानकारी दिए । संघमार्फतको बजेट हालसम्म जम्मा ३६ दशमलव ५० प्रतिशत खर्च भएको छ ।

यस्तै, प्रदेश सरकारले यस चालू आवमा विनियोजन गरेको १ अर्ब ६० करोड ७३ लाख ७१ हजार बजेटमा जम्मा ३१ दशमलव १९ प्रतिशत बजेट अर्थात् ५० करोड १३ लाख ५१ हजार ९४२ रकम खर्च भएको छ । संघबाट विनियोजित चालूतर्फको बजेट पछिल्लो ८ महीनामा ५६ प्रतिशत र प्रदेश सरकारको ३१ प्रतिशत बजेट खर्च भएको हो । यसरी सरकारले विनियोजन बजेट अपेक्षाकृतरूपमा विकास निर्माणसहित खर्च हुन नसक्नुमा कोरोना महामारी प्रमुख कारण भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक ओझाको भनाइ छ ।

‘कतिपय विकास बजेटको भुक्तानी भइनसकेर अलि कम खर्च देखिएको हो, केहीको भने बल्ल पहिलो चरणको भुक्तानी भएको छ,’ ओझाले भने, ‘विकास बजेट खर्च गतवर्षहरूको तुलनामा बढ्दै गएको छ ।’ रासस

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार ०३:१४