सैद्धान्तिक विचलनको पथमा कांग्रेस

लेखक सुदर्शन आचार्य
७२ वर्षे इतिहास बोकेको कांग्रेसका पछिल्ला दिनमा सैद्धान्तिक विचलन सतहमै देखिएको छ । तेह्रौँ महाधिवेशन सम्पन्न भएयता कांग्रेसभित्र देखिएको सैद्धान्तिक विचलनका कारण कांग्रेसजन मात्र नभई लोकतन्त्रवादीसमेतलाई चिन्तित बनाएको छ । हिजोका मितिसम्म कांग्रेसले अरू पार्टीको झन्डा कहिल्यै आफ्ना कार्यकर्तालाई बोक्न लगाएन ।

आफनै विचार सम्प्रेषित गरिरह्यो । तर, तेह्रौँ महाधिवेशनपश्चात् सम्पन्न स्थानीय निर्वाचनमा आफ्ना कार्यकर्ता तथा समर्थकलाई हँसिया–हथौडामा मतदान गर्न लगाएको कांग्रेस नेतृत्वले आमनिर्वाचनसम्म पुग्दा गाईदेखि हलो र अरू पनि केकेमा मात्र मत हाल्न निर्देश गरेन १ तर, त्यसको ‘पोलिटिकल बेनिफिट’ कांग्रेस नेतृत्वले निजीबाहेक दलगत हिसाबले कहीँ कतै लिएको देखिँदैन ।

हुँदाहुँदा आफ्नो इतिहासमै महत्वपूर्ण मानिएको महासमिति बैठकले राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्ने ठोस निर्णय लिने अपेक्षा आममानिसमा थियो । तर, त्यसमा पनि कांग्रेस नेतृत्व नराम्रोसँग चुक्न पुग्यो । कांग्रेस उत्पादनको नर्सरी मानिएको नेपाल विद्यार्थी संघलाई विघटनउन्मुख गराएर थिलथिलो मात्र बनाइएन, ‘कोमा’मै पु¥याइयो । पार्टीका अन्य भ्रातृ संगठन लगभग मृतप्रायः छन् ।

युवा फाँटमा चलायमान हुनुपर्ने नेपाल तरुण दलले अझै पूर्णता पाउन सकेको छैन भने दलित संघ, प्रेस युनियन, सांस्कृतिक संघजस्ता प्रभावकारी संगठनसमेत भिजिटिङ कार्ड छापेर बाँड्दै हिँड्ने संगठनमा रूपान्तरण भएका छन् । सत्ताद्वारा गरिएका दर्जनौँ जनविरोधी कामबारे संसद् र सडकमा बुलन्द आवाज उठाउनुपर्ने कांग्रेस केवल फेसबुक लाइभमै रमाइरहेको छ ।

गौरवशाली इतिहास भएकै कारण कांगे्रस हुनमा गौरव गरेर कांग्रेसमै टिकिरहेकाहरूले टिकाएको पार्टी हो कांग्रेस । ००७, ०१५, ०३६, ०४२, ०४६ र ०६२÷६३ को परिवर्तनकारी आन्दोलनको आह्वान र नेतृत्व गर्ने मियो शक्ति भएकै कारण कांग्रेसप्रति राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा विश्वास थियो । तर, आजको नेतृत्वले त्यो विश्वासलाई खण्डित बनाइदिएको छ । निर्मला हत्या प्रकरण, डा। गोविन्द केसीसँगका सम्झैता, वाइड बडी खरिदमा भएको अनियमिततालगायत अनगन्ती गम्भीर प्रकृतिका प्रकरणमा खै कांग्रेसको खबरदारी रु प्रतिपक्षी दलले मूकदर्शक बनेर सरकारका काम कारबाहीको साक्षी बन्न पुग्दा गणतन्त्रकै बदनाम भएको छ । यसले देखाउँछ कांग्रेसको अकर्मण्यता । के प्रतिपक्षी कांग्रेसले सत्तापक्षको ‘बर्नभिटा’ प्राप्त गरेकै हो त रु

आफ्ना नातागोतालाई राजदूतबाट फिर्ता नबोलाइदिन सत्तापक्षसित हारगुहार गरिँदै छ । संवैधानिक निकायमा भागबन्डामा नियुक्ति पाउन सत्तासँग बार्गेनिङ र अँध्यारो कोठामा सम्झौता गरियो भन्ने आरोपको कांग्रेस नेतृत्वले खण्डन गर्न चाहेन । गुटका हिसाबले आफ्नो हुँदा सबै जायज र फरक गुटको हुँदा भंग गर्नेसम्मको शृंखला कांग्रेसका लागि नौलो रहेन । विधिको पाठ वामपन्थीलाई सिकाउनुपर्ने कांग्रेस उल्टै वामपन्थीबाट डो(याइनु अब आश्चर्यको विषय रहेन । गाई, हलो र हँसिया हथौडामा हिजो भोट हाल्न आह्वान गरिएबाट प्रारम्भ भएको कांग्रेसको विचलन अझै रोकिएको छैन । यथास्थितिमै चल्दा पुनर्जीवन पाउन सक्ला या विघटनउन्मुख होला, यसै भन्न सक्ने अवस्था छैन ।

हिजोको कालखण्डको स्मरण गरौँ, बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिहं, कृष्णप्रसाद भट्टराईजस्ता नेताले सत्ता प्राप्तिसँगै सुखसयलका निम्ति कठिन आन्दोलनको ज्वारभाटा उठाएका थिएनन् । राणा, राजा, पञ्चायत र माओवादी आदिको सत्ता र बन्दुक खोसेर जनतालाई मालिक बनाउने सपना थियो कांग्रेसको । कांग्रेसकै सपना, कांग्रेस नेतृत्वको बलमा वाममोर्चा सम्मिलित आन्दोलन र कांग्रेसकै मार्गचित्रबाट गणतन्त्र प्राप्तिसँगै नेपाली जनताले लोकतन्त्रको राजमार्ग प्राप्त गरेका हुन् ।

फाँसीसम्मको सजायको पर्वाह गरेन हिजोको कांग्रेस शीर्ष नेतृत्वले । तिनै नेतृत्वद्वारा स्थापित जनताको कांग्रेसलाई कुलीन सम्भ्रान्त परिवारद्वारा चारैतिर काँडेतार लगाइएको पर्खालभित्र पु(याइएको छ । त्यो पर्खालमा लगाइएको काँडेतार पन्छाएर कांग्रेस पार्टीलाई पुनः जनताबीच ल्याउन बिपी कोइरालाले भनेझैँ सुकिलामुकिलाविरुद्ध एकपटक इमानदार कार्यकर्ताले संघर्ष गर्ने वेला आएको छ ।

कांग्रेस पार्टीलाई जनताबीच स्थापित गराउन संघर्षको मैदानमा रहेकै बखत शरीरमा गोली र खुकुरीको चोट कायमै रहेका स्याङ्जाका खगेन्द्र रेग्मी, कालिकोटका हिक्मतबहादुर विष्ट, चितवनका इन्द्रकुमार ओली, दुवै आँखामा तेजाब प्रहारबाट दृष्टिविहीन भएका रुकुमका गोपलप्रसाद शर्मादेखि अपांगताको जीवन बिताउन बाध्य लमजुङका हुमनाथ दवाडीलाई एकपटक सोध्नैपर्ने हुन्छ, आखिर कांग्रेसप्रतिको माया र विश्वास भनेको के हो रु सहिद परिवारको अवस्था झनै अकल्पनीय छ ।

राजा महेन्द्रविरुद्ध जनकपुरमा बम प्रहार गर्ने युवा सहिद दुर्गानन्द झादेखि कांग्रेस पार्टीलाई जनताको पार्टी बनाउन तल्लीन सिन्धुपाल्चोक भीमटारको दनुवार बस्तीका समाजसेवी दिलबहादुर दनुवार हुँदै लमजुङका मुक्तिनाथ अधिकारीलगायत देशैभरका सहिद परिवारको अवस्थाबारे कांग्रेसले चासो लिनुपर्ने हो वा होइन रु यसको जवाफ सहिद एवं घाइतेका परिवारले कांग्रेससँग खोज्दै छ ।

हिजो शक्ति आर्जनका निम्ति नेता जेल तथा निर्वासन रोज्थे, आज प्रतिपक्षमा हुँदासमेत कांग्रेसमा सत्तामै रहेको भान देखिएको छ । न्यायालयभित्र विधि र पद्धतिविपरीत काम हुँदासमेत चुँक्क नबोल्ने कांग्रेस आजको आवश्यकता होइन । आज आफू सच्चिँदै, सत्तामा रहेको नेकपादेखि संवैधानिक निकायसम्मलाई विधि र पद्धतिबाट विचलित हुनबाट रोक्दै गणतन्त्रको राजमार्गमा डो(याउन सक्ने कांग्रेस चाहिएको हो । मौजुदा नेतृत्व यी र यस्ता सवालमा नराम्ररी चुकेको छ ।

कांग्रेस आज राष्ट्रिय राजनीतिमा मार्गचित्रविहीन अवस्थामा छ । मुलुकलाई आगामी कति वर्षमा कुन अवस्थामा पु(याउने भन्ने मार्गचित्र प्रस्तुत गर्न नसक्दा कांग्रेसप्रति जनताको आकर्षण घट्दो छ । कांग्रेसप्रतिको आकर्षणका निम्ति बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला आदि नेताले प्रजातन्त्र–गणतन्त्र प्राप्तिसँगै शेरबहादुर देउवाको कालखण्डसम्म आइपुग्दा स्थानीय र आमनिर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको बाटो खोल्ने काम सम्पन्न भएको छ ।

आफैँ हुँदा मात्रै धेरै काम हुन सक्छ भन्ने मान्यताबाट मुक्त हुँदै पार्टीमा देउवा, रामचन्द्र पौडेल आदि नेताले त्यागको भावना प्रस्तुत गर्ने वेला आएको छ । जुझारु र क्रान्तिकारी छवि आर्जन गर्न सक्दा मात्र कांग्रेसप्रति युवा, विद्यार्थी, तरुण र बुद्धिजीवीसमेतको आकर्षण बढ्ने हो । अन्यथा आजकै जस्तो सैद्धान्तिक विचलन कायमै रहँदा कांग्रेस बन्ने भनेको प्रजापरिषद् नै हो । आजकै मितिमा कांग्रेस नेतृत्व सचेत नहँुदा आइपर्ने विचलनलाई समय घर्किएपछि रोक्न सम्भव छैन । नयाँ पत्रिकावाट

प्रकाशित मिति १९ माघ २०७५, शनिबार ०८:०१