क्यान्सर पीडितको घाउमा मल्हम लगायो पर्वत सेवा समाज नेपालले

पर्वत–क्यान्सरबाट पीडित भएका यहाँका एक व्यक्तिलाई प्रवासीहरुले सहयोग गरेका छन् । पर्वतको फलेवास नगरपालिका–११ पाङराङ निवासी पदमबहादुर कँडेल र उहाँकी श्रीमती भिमाकुमारी कँडेल दम्पतीलाई पर्वत सेवा समाज नेपालले नगद दश हजार ३२ रुपैयाँ सहयोग गरेको हो ।
पर्वत जिल्ला कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल अमेरिका बस्दै आउनुभएका इन्दुराज रेग्मीको नेतृत्वमा संकलन गरेको आर्थिक संकलन अभियानमा खुर्कोटका रोशन पौडेल, कुश्मा खरियाका सुनिल पौडेल, सुरज क्षेत्री, सुमन श्रेष्ठको आर्थिक सहयोग गर्नुभएको थियो । उक्त संकलन रकम पर्वत सेवा समाज नेपाल मार्फत हस्तान्तरण गरिएको हो । ‘‘जन्म भूमीका लागि केही गरौँ’’ भन्ने मुल नाराका साथ सहयोगका हात बढाउँदै आएको उक्त संस्थाले दिन, दुःखी, गरिव तथा असहाय लगायत विपतीमा परेकाहरुलाई सहयोग गदै आएको छ ।
संस्थाले यस अघि पनि थुप्रै सामजिक काम गदै आएको छ । रकम हस्तान्तरण गदै फलेवास नगरपालिका–११ पाङराङका वडाध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले पर्वत सेवा समाज नेपालले नमुना र उदाहरणिय काम गरेको बताउनु भयो । उहाँले कँडेल दम्पतीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आफ्नो तर्फवाट पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पर्वत सेवा समाज नेपालका अध्यक्ष मुना भुषालले संस्थाले आर्थिक अवस्थामा मात्र कमजोर नभई अन्य समस्यामा परेका व्यत्तिलाई पनि सहयोग गर्ने बताउनु भयो । उहाँले रकम सानो भएपनि समाजले देखाएको सद्भाव निकै महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।उक्त कार्यक्रमको संचालन युवा समाजसेवी अचुत तिवारीले गर्नुभएको थियो । रकम पाएपछि कँडेल दम्पतीले ठुलो राहात मिलेको बताउनु भयो ।
क्यान्सरको उपचार गर्दागर्दै सम्पत्ती सबै सक्किएपछि कँडेल दम्पत्ती मुडिकुवा स्थित कालिका मन्दिरमा बस्दै आउनुभएको छ । एउटा झुपडी र ४ हलको खेत बेचेर आएको १२ लाख रुपैयाँ उपचारमा सकिएपछि मन्दिरको बास भएको कँडेलले बताउनुभयो । ६७ बर्षिय कँडेल पिसावनली अर्थात प्रोष्टेट क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँलाई रोगले च्यापेको ४ वर्ष भयो । २०७१ सालबाट कँडेलले उपचार शुरु गरेपनि रोग झनै बल्झिँदै गएको छ ।
पिसावमा रगत देखिन थालेपछि कँडेल २०७१ पुष १४ गते पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पुग्नुभयो । त्यहाँ ४ महिनासम्म उपचार गरेपछि रगत बग्ने समस्या कम भयो । त्यसपछि उहाँ घर फर्किनुभयो । पोखरामा उहाँले १० लाख खर्च गर्नुभयो । पोखराबाट फर्किएको १ महिना नहुँदै फेरि पिसावमा रगत देखिन थाल्यो । भएको घर खेत बेचेर गाउँलेहरुको सल्लाह लिई उहाँ २०७५ जेठमा चितवनको वि.पी. कोईराला क्यान्सर अस्पतालमा पुग्नुभयो ।
एक महिना उपचार गराएपछि साथमा भएको रकम सकियो । अस्पतालले थप उपचारका लागि रकम ल्याउन सल्लाह दिएर अस्पतालबाट डिस्चार्ज गरे । डाक्टरहरुले थप रकम ल्याएर उपचार गर्ने सल्लाह दिएपछि उहाँ जिल्ला फर्केपछि गाउँ पुग्नुभएको छैन् ।

प्रकाशित मिति २६ माघ २०७५, शनिबार ०२:५२