पर्वत: सवारी दुर्घटना न्यूनिकरण गर्न चालकलाई परामर्श

नेपाली आवाज–पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बिहिवार देखी चालकहरुलाई परामर्श दिन थालेको छ । यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथाम विषयमा सवारी चालकलाई जानकारी दिने उद्देश्यले ट्राफिक प्रहरीले परामर्श दिन थालेको हो ।
मध्यपहाडी लोकमार्ग हुँदै पोखरा, बागलुङ म्याग्दी लगायत कुश्माको शिलावय चोकवाट बाहिरिने र भित्रिने सवारी साधानका चालकहरुलाई परामर्श दिन थालिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो । कुश्मा नगरपालिका–६ शिलालय चोकवाट सुरु भएको परामर्श कार्यक्रम हरेक हप्ताको बिहिवार र आवश्यक परे दैनिक रुपमा संचालन गरिने गौलीले बताउनु भयो । पहिलो दिन ४४ वटा सवारीका चालकले अप्नाउनु पर्ने सुरक्षा, यात्रुको सुरक्षा, ट्राफिक नियम र दुर्घटना रोकथामका विषय जानकारी गराईएको बताईएको छ । प्रहरीले सुरु गरेको अभियान निकै महत्वपूर्ण रहेको बागलुङवाट पोखरा चल्ने ग १ ख ५७८० नम्वरका बस चालक पदमवहादुर कुवँरले बताउनु भयो ।
परामर्शका क्रममा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकको स्वास्थ्य अवस्था, मदिरा सेवनवाट हुने नोक्सानी, सवारी चलाउँदा मोवाईलको प्रयोग, गर्न नहुने लगायतका विषयमा जानकारी गराउनुका साथै सवारीसाधनको नियमित मर्मत सम्भार, घुम्तीहरुमा अरुलाई उछिन्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा परामर्श दिने गरेका थिए ।
हरेक हप्ता एक घण्टाका दरले परामर्शले चालकहरुमा सकरात्मक सन्देश पूवाह हुने प्रहरीले जनाएको छ । बिहिवार ट्राफिक प्रहरी गौलीको नेतृत्वमा खटेको टोलीले मेकनिक सतेन्द्र शाह सहितको टोलीले चालकलाई परामर्श दिएका थिए ।
पछिल्लो दुई महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न निकै चासो देखाएको छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार ००:५९