नेपाली काँग्रेस पर्वतले थाल्यो पार्टी सुदृढिकरण अभियान



नेपाली आवाज–पर्वत । नेपाली काँग्रेस पर्वतले संगठन विस्तार तथा सुदृढिकरण अभियान शुरु गर्ने भएको छ । सडक र सदनमा नेपाली काँग्रेसको भूमिका कमजोर भएको जनगुनासो बढिरहेका बेला नेपाली काँग्रेसले यस्तो अभियान थालेको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको आज सम्पन्न बैठकले संगठन विस्तारका लागि जिल्लाका ६१ वटै वडामा केन्द्रिय सदस्य देखी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी र जिल्ला सदस्यलाई खटाउने निर्णय गरेको छ ।

साथै पर्वत काँग्रेसको बैठकले राजनिती साँगठनिक र आर्थिक प्रतिवेदनमा सवैको सल्लाह सुझाव सहित संसोधन गरि पारित गर्ने निर्णय गरेको नेपाली काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नयाँ क्रियाशिल सदस्यता पत्र २०७६ बैशाख मसान्त भित्र जिल्ला कार्यसमितिमा बुझाउन वडाका सभापतीहरुलाई निर्देशन दिएको छ । पार्टीले २०१७÷२०४६ र ६२÷६३ को आन्दोलनमा योगदान पु¥याउने व्यक्तिहरुको लगत संकलन गरि सम्मान गर्ने भएको छ । नेपाली कांग्रेस पार्टी सुदृढिकरणका लागि देशव्यापी रुपमा शुरु गरेको राष्ट्रिय जागरण अभियान’ लाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय भएको सचिव श्रेष्ठको भनाई छ ।

बैशाख ११ गतेवाट शुरु हुने अभियानलाई सार्थक बनाउन सवैलाई आग्रह गरिएको छ । साथै नेपाली काँग्रेसले विभिन्न विभागहरुको गठनका लागि प्रत्येक वडातहवाट बढिमा ५० जना क्रियाशिल सदस्यहरुको नामवली माग गरिएको छ । साथै पार्टी सुदृढिकरणका लागि नेपाली काँग्रेसले जिल्लाका सात स्थानीय तहमा प्रशिक्षण कार्यक्रम यथाशिघ्र आयोजना गर्ने भएको छ । त्यस्तै नेपाली काँग्रेस पर्वतले आफ्नै भवन बनाउने बारेमा छलफल गरेर भवन निर्माणका लागि योजना तय गरेको छ ।

भवन निर्माणका लागि जिल्लाका नेताहरुसँग छलफल भईरहेको पार्टि सभापती खिमप्रसाद भुसालले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गदै पार्टी सभापती भुषालले पार्टी नयाँ ढंगवाट अगाडी बढाउने बताउनुभयो । उहाँले पार्टी सुदृढिकरणका लागि सवै लाग्नुपर्ने धारणा राख्नुभयो ।

साथै उहाँले पार्टीले शुरु गरेको जागरण अभियानले पार्टीका नीति, सिद्धान्तबारे जनतालाई बुझाउने, विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जानकारी गराउने, वर्तमान सरकारको गलत कार्यबारे जानकारी गराउने लगायतका उद्देश्य राखिएको बताउनुभयो ।

जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सदस्यहरुले रचनात्मक सुझावहरु दिएका थिए ।

प्रकाशित मिति ७ बैशाख २०७६, शनिबार १६:०३