जलजला पुगेर काँग्रेस नेताले भने– ‘पार्टी बलियो बनाउन धनवाद र चाकडीवादवाट टाढा राख्नुपर्छ’

नेपाली आवाज–पर्वत । नेपाली काँग्रेस पर्वतका नेताहरुले गाउँ जागरण अभियान शुरु गरेका छन् । पार्टीलाई सैद्धान्तिक हिसाबले प्रष्ट, संगठनात्मक र कार्यशैलीमा सुधार ल्याउने उद्देश्यले गाउँ जागरण अभियान शुरु गरेका हुन् । जागरणका क्रममा जिल्लाका गाउँ–गाउँमा पुगेर नेपाली काँग्रेसको निति तथा भावी योजनाका बारेमा कार्यकर्तालाई जानकारी गराउन थालिएको नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गावहादुर खत्रीले जानकारी दिनुभयो । प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा पार्टीले नराम्रो सँग हार व्यहोरेको अवस्थामा संगठन र कार्यकर्ता समेत विचलित भएकाले संगठन सुदृढिकरणका लागि  गाउँ जागरण अभियान शुरु गरिएको खत्रीले बताउनु भयो । केही दिन अघि पर्वतको सूदूर दक्षिणका गाउँ गाउँमा पुगेर कार्यकर्ता भेटघाट गरेको काँग्रेसले त्यसको केही दिनमा फेरि क्षेत्र नम्वर १ मा गाउँ जागरण अभियान लिएर गाउँ पुगेको हो । गाउँ जागरण अभियान अन्र्तगत आज पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ र मिलचोकमा जागरण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्रतिनिधी सभाका सदस्य  लालकाजी गुरुङले कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्नेमा जोड दिनुभयो । नेपालको राजनीति परिर्वतनमा कांग्रेसले खेलेको भूमिकाका वारेमा स्मरण गराउदै पछिल्ला दिनमा कांग्रेसले सहिमार्ग पहिल्याउन नसकेको गुनासो व्यक्त गर्नुभयो । उहाँले नातावाद, कृपावाद र आर्थिक प्रलोभनबाट पार्टी माथि उठ्न सकेमात्र सच्चा कार्यकर्ताहरुको सम्मान हुने कुरामा जोड दिनुभयो । काँग्रेस सच्चिएर अगडी बढेमा अहिले देखिएको बाम गठबन्धनले आउँदो निर्वाचनमा त्यति ठूलो प्रभाव नपार्ने समेत तर्क गर्नुभयो ।

नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङले कांग्रेसले एक अर्कालाई कमजोर बनाउन तिर नलागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । काँग्रेसप्रति जनताको आशा र भरोसा अहिलेपनि उत्तिकै रहेको बताउँदै नेता गुरुङले काँग्रेस सच्चिएर अगडी बढ्नुपर्ने बताउनु भयो ।चुनावी दौडानमा आफुले भोगेका पिडाहरु सुनाउदै अबका दिनहरुमा कांग्रेसहरुले आफ्ना कमि कमजोरीहरुलाई नसुधारेसम्म पार्टी बिलियो हुन नसक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व साँसद ऋषिकेश तिवारीले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताउनु भयो । कांग्रेसलाई अझैपनि पहिलो पार्टी बनाउन सकिने धारणा राख्दै नेता तिवारीले त्यसको लागि नेताहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसले आफुलाई शसक्त बनाउनका लागि काङ्ग्रेसका सम्पूर्ण भातृ सङ्घ संस्थाहरुलाई समेत सक्रिय तुल्याउँदै जानु धारण राख्नुभयो । उहाँले पार्टीमा धनवाद र चाकडीवादवाट टाढा राख्नसके काँग्रेसले बहुमत ल्याउनेमा शंका नगर्न आग्रह गर्नुभयो ।

गाउँ जागरण सभामा नेपाली काँग्रेसका जिल्ला सदस्य कृष्ण केसी, महासमिति सदस्य बसन्तवहादुर सिके, पर्वत–काठमाडौ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाई, काँग्रेस नेता राम शर्मा, महिला नेत्री मिना केसी, नेपाल तरुण दलका अध्यक्ष तोरण मल्ल ‘राज’,नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य इन्दु शर्मा लगायतले बोल्नुभएको थियो ।

नाग्लिवाङमा सम्पन्न भएको कार्यक्रम सभापति रामवहादुर क्षेत्री र मिलनचोकमा भएको कार्यक्रम नेपाली काँग्रेस जलजला गाउँपालिकाका संयोजक चन्द्रवहादुर जिसीको सभापतित्वमा सम्पन्न भएको थियो । नागिल्वाङमा भएको कार्यक्रममा स्वागत कुलवहादुर परियार र कार्यक्रमको संचालन पाटी सचिव भद्रवहादुर जिसीले गर्नुभएको थियो । मिलनचोकमा भएको कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका नेता जगत शंकर पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति १० बैशाख २०७६, मंगलवार १७:३४