जन्मदिनको खर्चले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

नेपाली आवाज– जन्मदिनमा गरिने फजुल खर्च कटाएर पर्वतका एक व्यक्तिले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा जन्मिएका सरोज खनालले आफ्नो २४ औँ जन्मदिनको अवसरमा स्थानीय जनसहयोगी मा.विमा अध्ययनरत विद्यार्थीलाई झोला, कापी–कलम लगायतका सामग्री प्रदान गरेका हुन् ।

सिमखेत युवा क्लबका अध्यक्षसमेत रहेका खनालले जन्मदिनमा गर्ने अनावश्यक खर्च जोगाएर बालबालिकालाई सहयोग गर्दा आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशवहादुर थापाले अनावश्यक खर्च गर्ने समाजका बीचमा खनालले गर्नुभएको सामाजिक काम अरुका लागि समेत प्रेरणादायी भएको बताउन भयो ।

कार्यक्रममा नेपाल भूपू सैनिक संघका अध्यक्ष सुबेदार खड्कवहादुर कार्की, टोल विकास समितिका अध्यक्ष हेमप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य शिव अधिकारी लगायतले जन्मदिनको शुभकामना दिँदै विद्यार्थीका लागि ठूलो सहयोग भएको बताउनुभयो । खनाल विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी नेपाल तरुण दल फलेवास नगरको उपाध्यक्ष समेत हुन् ।

प्रकाशित मिति १४ बैशाख २०७६, शनिबार १७:११