जलजला गाउँपालिका : कालीगण्डकी नदि उत्खननमा कडाई गदै

असार ६, पर्वत । पर्वतको जलजला गाउँपालिकाले ढुंगागिटी बालुवा उत्खननमा कडाई गरेको छ । कालीगण्डकी नदीबाट अवैध उत्खनन भएको र गाउँपालिकाले अनुगमन नगरेको भन्दै आलोचना भएपछि कानुन अनुसार उत्खननमा कडाई गरिएको हो । गाउँपालिकाले नदी किनारमा असार, साउन र भदौमा उत्खननमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको अध्यक्षतामा आज बसेको बैठकले उत्खननमा कडाई गर्ने निर्णय गरेको हो । नदीमा उत्खनन गर्न पूर्ण रुपमा रोक लगाउने र गाउँपालिकाले बनाएको कार्यविधि उलंघन गर्नेलाई कारवाहि गर्ने निर्णय भएको अध्यक्ष मल्लले बताउनुभयो । गाउँपालिकाले भदौ १५ गतेसम्म ठेक्का नलागाउने भएको छ । असार, साउन, भदौ सम्म कोहि नदीमा डोजर, एक्साभेटर वा अन्य कुनै हेवी ईक्यूपमेण्ट लगेर उत्खनन गरेमा कारवाहि गर्ने निर्णय भएको छ ।

नदीमा उत्खननमा गरेमा भेटिएमा टेक्टरलाई १५ हजार, टिप्परलाई २५ हजार  डोजरलाई ६० हजार जरिवाना तोकेको छ । निर्णण विपरित यदि कसैले अटेरी गरेमा जरिवानालाई दोव्वर बनाउँदै लैजाने गाउँपालिकाका अध्यक्ष मल्ले बताउनु भयो । अवैध रुपमा नदि जन्यवस्तु उत्खनन् गर्न गाउँपालिकाले प्रहरी सँग समन्वय गर्ने भएको छ ।

प्रहरीले नदी उत्खनन गरेको सम्वन्धित व्यक्ति साधनलाई प्रकाउ गरेमा जरिवानाको १५ प्रतिशत प्रहरीलाई बुझाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । कालीगण्डकी नदीमा अवैध उत्खनन भएको भन्दै अख्तियार सम्म मुद्धा पुगेको छ । गाउँपालिकाले अख्तियारमा मुद्धा परेपछि आफ्नो गाउँपालिका क्षेत्रका सबै घाटहरुमा टोली खटाएर उत्खननको अवस्थाको बारेमा अनुगमन गरिएको थियो । वातावरणमा परेको असरको बारेमा अनुगमन गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

वडाध्यक्ष भिस्म मल्ल र राजस्व अधिकृत लिलाधर सुबेदी, प्राविधिक कृष्ण रिजाल र कलाधार आचार्यको सहितको टोली खटाएर घाटमै पुगेर अनुगमन गरिएको थियो । अनुगमन टोलीले अवैध उत्खनन भएको भनेर दिएको रिपोर्ट सम्बन्धित निकायमा पठाएको छ । कतिपय स्थानमा सम्झौता भन्दा बढि मात्रामा उत्खनन भएको हुनाले प्रचलित कानुन अनुसार काम गर्न निर्देशन दिईएको मल्लले बताउनुभयो ।

जलजलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

असार ६, पर्वत । पर्वतको जलजला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आज बाट उक्त कार्यक्रम शुरु भएको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले जानकारी दिनभुयो । गाउँपालिकाले १०० यूवालाई राजेगारीमा समेट्ने भएको छ ।

रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै मल्ले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र विकास निर्माणसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन गाउँपालिका योजनाबद्ध ढंगले अगाडि बढेको बताउनु भयो ।

गाउँपालिकाले सवै वडामा यो कार्यक्रम शुरु गदै छ ।  साथै गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रमको तयारी गरेको छ । वडाका सबै योजनाहरु अहिले ल्याउने काम भैरहेको छ । सबै वडामा अहिले योजना तर्जुमा गर्न थालिएको छ ।

असार १३ गते सम्म वडाका सबै योजना संकलन गरिसक्न सबै वडाका प्रतिनिधीहरुलाई निर्देशन दिएको मल्लले बताउनु भयो ।

 

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार १६:२१