फलेवास नगरपालिका : एक घर दुई विरुवा अभियान

साजन परियार । फलफुलमा नगरपालिकालाई आत्मानिर्भर बनाउने उदेश्यका साथ पर्वतको फलेवास नगरपालिकाले फलफुलका वितरण गरेको छ ।
११ वटै वडामा प्रति वडा २ सयको दरमा विरुवा वितरण गर्न थालिएको हो । फलेवास नगरपालिकाले गतवर्षको नीति तथा कार्यक्रममा एक घर एक फलफुलको बिरुवा कार्यक्रम सार्वजनिक गरेको थियो भने यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सोहि कार्यक्रम अन्तर्गत प्रत्येक घरमा एक फलफुलको बिरुवा रोप्ने कार्यक्रम रहेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । नगरपालिकाले वडाहरुबाट अहिले लिची, आँप, सुन्तला, कागती लगायतका बिरुवा वितरण गरिरहेको शर्माले बताउनुभयो । उहाँले नगरपालिकाले कृषकहरुको माग अनुसार यस वर्ष ३ हजार विरुवा वितरण गर्न लागेको बताउनुभयो ।

व्यवसायिक रुपमा ठूलो क्षेत्रमा फलफुल खेती गर्न चाहनेहरुलाई भने आवश्यक पर्ने विरुवा निशुल्क वितरण गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाको केन्द्र खानीगाउँमा हिजोबाट विरुवा वितरण शुरु भएको वडाध्यक्ष दीपक शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँले कृषकहरुले धमाधम विरुवा लगिरहेको बताउनुभयो । अन्य वडामा पनि विरुवा लगिसकेको र अनुकलता हेरेर वितरण भैरहेको वडाका प्रतिनिधीहरुले बताएका छन् । कृषकहरुको माग धेरै भएका ठाउँमा माग नगरपालिकामा सिफारिस गरिएको छ ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार १६:०८