विष्णुबाटिका अशोक्त मुक्तिमार्गमा बृक्षरोपण

साजन परियार, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माणधिन अवस्थामा रहेको बिष्णुबाटिका अशोक्त मुक्ति मार्ग स्थलमा बृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीले बिष्णुवाटि परिसरमा व्यवस्थित किसिमवाट विभिन्न प्रजातिका विरुवा रोपेको हो । उक्त स्थानमा अशोका, तेजपत्ता लगायत विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएको क्लवकी अध्यक्ष मन्जु सिलाकारले जानकारी दिनुभयो ।

पर्यावरण सँगै बिष्णुबाटिकाको निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बृक्षरोपण गरेको अध्यक्षले बताउनु भयो । बृक्षरोपण कार्यक्रमको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले विरुवा रोपेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी समेत रहेका जोशीले लायन्सहरुले बाताबरण संरक्षण अभियानमा लाग्नु प्रशंसायोग्य रहेको बताउदै कुश्मा नगरपालिका साच्चिकै अब सफा सुन्दर र हरियाली बन्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले  नगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा अगाडी रहेको र सम्बृद्ध नगरको सपना साकार पार्न यी क्षेत्रको पहिचानसँगै प्रर्बंद्धन गर्न आबाश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्रीले आफूले चुवालाई समृद्ध बनाउन धार्मिक सँगै पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य राखेको बिष्णुवाटिकाको निर्माणमा लागेको भन्दै सबै क्षेत्रबाट कार्यक्रमहरुलाई सफल बनाउन सहयोग हुने अपेक्षा राखेको बताउनु भयो । बिष्णुवाटीका प्रति लायन्सहरुले देखाएको सहयोगले आत्मबल बढेको बताउँदै निर्माण कार्यक्रमा सहयोग गर्न सवैलाई अपिल गर्नुभयो ।

कार्यक्रममा बिष्णुबाटिका निर्माण कार्य समितिका अध्यक्ष कुलप्रसाद शर्मा र विषमकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष मन्जु सिलाकारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत क्लवका तृतिय उपाध्याक्ष कमला पौडेल र कार्यक्रमको संचालन सचिव प्रभारत्न जोशीले गर्नुभएको थियो ।

चुवालाई धार्मिक पर्यटन गुरुयोजना बनाएर पूर्वाधार विकास गर्न पहल थालेको छ । विष्णुबाटिका अशोक्त मुक्तिमार्ग नाम दिईएको त्यस स्थान वरिपरि पार्वतीको जन्मथलोमा चौतारी बनाई १ सय ८ वरपीपलका रूख रोप्ने योजना छ । त्यस्तै १ सय ८ तुलसीका मठ बनाउन थालिएको छ । चाइना चोकदेखि घारीचौर हुँदै चुवाको खोल्सासम्म १५ सय मिटर लम्बाइ छ ।

सडक फराकिलो पार्ने नाममा वरपीपलका चौतारा मासिँदै गएका बेला यहाँ निर्माण हुने १ सय ८ चौताराले महत्व पाउने विश्वास वडावासीको छ । चाइनाचोकदेखि देवीस्थान मन्दिरसम्मको डेढ किमि क्षेत्रमा ८ मिटर चौडा बाटो बन्दैछ ।

कुश्मादेखि २ किमिको दूरीमा रहेको चुवामा निर्माणाधीन विष्णुबाटिकासँगै मोदीखोलाको सुसेली सुन्दै र उत्तरतर्फ लहरै मिलेका हिमाल हेर्दै रमाउनेहरूका लागि आसपासमा व्यवस्थित रिसोर्टसमेत बनाइने योजना छ ।

प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १७:२८