सिडियो माथि किन खनिए पर्वतका महिला ?

साजन परियार, कुश्मा । तीज पर्वलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्वतले कडाइ गरेको प्रति पर्वतका विभिन्न सामाजिक संघसंस्थाले आपत्ती जनाएका छन् । पर्वतमा क्रियाशिल ९ वटा संघसंस्थाले संयुक्त रुपमा प्रसासन कार्यालयलाई ध्यानकर्षण गराउँदै तीज मनाउन गरिएको अवरोध स्विकार्य नभएको जनाएका छन् ।

सञ्चारिका समूह, ईनरह्वील क्लव अफ पर्वत, लायन्स क्लव अफ कुश्मा सिटी, महिला मानव अधिकार सन्जाल, सिसेफ महिला समूह, महिला उद्यमी समिति, व्युटिसियन संघ, सुनचाँदी महिला व्यवसायी संघ र होटल व्यवसायिक संघले प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ध्यानाकर्षण गराएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतले तीजमा तडक–भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन बिहिवार सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा तडकफडक गरि तीज नमाउन, होटल र पार्टि प्यालेसमा भोज नगर्न, गहना प्रदर्शन नगर्न भनिएको छ । प्रसासनले सुचना निकालेर कडाई गर्ने भनेपछि महिलाहरु आक्रोशित भएका छन् ।

पर्वतले महिला प्रमुख जिल्ला अधिकारी पाएपनि महिला प्रति उहाँ संबेदनशिल नभएको भन्दै महिलामैत्री बन्न महिला अधिकारबादीहरुले सचेत गराएका थिए । प्रमुख जिल्ला अधिकारी नेपालले तीज मनाउन रोकेको नभइ व्यवस्थित गर्न खोजेको बताउनुभयो । उहाँले महिनौदेखि नभइ निश्चित समयमा मात्रै तीज मनाउन आग्रह गरिएको प्रष्ट पार्नुभयो । सामाजिक सन्जालमा समेत प्रसासनको सुचनाको चर्को बिरोध भैरहेको छ ।

प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार १४:१४