एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुल आचार्य भेटघाटमा व्यस्त

नेपाली आवाज, संवाददाता । एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यले एनआरएनको नयाँ नेतृत्वमा अमेरिकाको सम्मानपूर्ण स्थान होस् भनेर अफुले सक्दो पहल गर्ने जनाएका छन् । एनआरएन अमेरिका अन्तर्गत टेक्रसास च्याप्टरद्वारा बिहीबार डालसमा आयोजित अन्तरक्रियामा आचार्यले अमेरिका एनआरएनको एउटा सम्मानित र बलियो आधार क्षेत्र भएको बताए ।

अमेरिकालाई कर्म थलो बनाएका साथीहरूले मातृभूमिको सेवामा धेरै समय र श्रोत खर्चेको र खास गरी भूकम्पपछि एनआरएनएको संयोजनमा अमेरिकाबाट साथीहरूले गरेको सहयोगका लागि संघको तर्फबाट हार्दिक धन्यवाद पनि दिए ।

गैर आवासीय नेपालीहरूले नेपालको पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गरिसकेका र त्यतिकै महत्वपूर्ण बौद्धिक लगानी पनि भएको उनले बताए ।

जहाँसम्म अहिले सबै एनआरएनहरूलाई प्रमुख चासो एनआरएनहरूको नेपालमा रहेको सम्पत्ति सुरक्षाको विषय र गैर आवासीय नेपाली नागरिकताको विषय रहेको भन्दै उनले यसबारे अलिकति प्रष्ट पार्न चाहेको बताए ।

गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने विषयमा सबै दलहरूबीच एक मत रहेको उनले बताए । ‘तर हाम्रा चासोका विषयहरू पनि छन् । सबैभन्दा पहिले त ऐनले भनेको सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ’, उनले भने, ‘त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ति गैर आवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ । त्यस्तै भूतपूर्व गोर्खाहरूको लागि पनि विशेष व्यबस्था हुनुपर्छ हामीले भनिरहेका छौं ।’

जहाँसम्म नेपालमा रहेको हाम्रो सम्पत्तिको सुरक्षाको कुरा छ, गैर आवासीय नेपाली नागरिकता लिए पनि वा नलिए पनि हाम्रो सम्पति सुरक्षित रहिरहन्छ’,  उनले भनेका छन्, ‘अहिलेको संविधान र नियम कानूनले नै त्यसको ग्यारेन्टी गरेको छ । त्यसैले आत्तिएर सम्पती बेच बिखन गर्नु पर्ने अवस्था छैन । गैर आवासीय नेपाली सम्बन्धी ऐनले पनि त्यसको प्रत्याभूति गरेको छ ।’

तर म अनुरोध गर्न चाहन्छु सबै साथीहरूलाई कानून नबन्दासम्म हामी सबैको प्रयास जारी रहनुपर्दछ । हामी चनाखो भै रहनुपर्छ र दवाव दिइरहनुपर्छ’, उनले भने, ‘अन्त्यमा म साथीहरूलाई आउँदो अक्टोबर महिनामा काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको बारेमा ध्यानाकर्षण गर्न चाहन्छु । यो संस्थाको औपचारिक थालनी युकेबाटै भएको हो । हाम्रा आदरणीय अग्रजहरू र तपाई, हामी सबै साथीहरूको तन, मन र धन अर्पण गरेर खडा गरेको यो संस्था अहिले ८० मुलुकमा फैली सकेको छ ।’

उनले भनेका छन्, ‘मेरो विचारमा अहिलेको मुख्य प्रश्न भनेको यो संस्थालाई कसरी बलियो बनाउने, कसरी समावेशी बनाउने, संसारभरि रहेका प्रवासी नेपालीहरूले अपनत्व महशुस गर्ने संस्था कसरी बनाउने भन्ने नै हो । यो विषयमा आउनुस्, थप छलफल गरौँ, मन्थन गरौँ । कुनै पदमा रहे पनि वा नरहे पनि म तपाईंहरुसंग संधै साथ मै रहने विश्वास दिलाउन चाहन्छु । सबै साथीहरूसंग आउंदो अक्टोबर महिनामा काठमाडौंमा भेट हुने विश्वास पनि लिएको छु ।’

प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार १४:५१