मध्यपहाडी लोकमार्गको पर्वत खण्ड चाँडो सम्पन्न गर्न काँग्रेसको माग

साजन परियार, पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको रोकिएको काम चाँडै सुचारु गर्न माग गर्र्दै नेपाली काँग्रेस पर्वतले जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गराएको छ । लोकमार्गको काम अलपत्र पर्दा नागरिकहरुलाई हिँडडुलमा समस्या भएको र राज्यको आर्थिक दायित्व बढ्दै गएको भन्दै काम छिटो सक्न काँग्रेसको आग्रह रहेको छ ।

नेपाली काँग्रेस पर्वतको अगुवाईमा आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । केन्द्रिय अर्जुनप्रसाद जोशी, पार्टि सभापति खिमप्रसाद भुसाल लगायत काँग्रेस नेताहरु पुगेर प्रमुख जिल्ला अधिकारीलाई लोकमार्गको काम सुचारु गर्न र काम चाँडो सक्न माग गर्नुभयो । केन्द्रिय सदस्य जोशीले लोकमार्ग जिल्लाको मात्रै नभई देशकै गौरबको आयोजना भएकाले नीतिगत रुपमा भएका समस्या समाधान गरि काम चाँडो सक्न सुझाव दिनुभयो ।

जोशीले लोकमार्ग संगै जिल्लाको समृद्धि समेत जोडिएको बताउँदै काममा गुणस्तरियता समेत हुनुपर्ने बताउनुभयो । पर्वत खण्ड २४ किलोमिटर क्षेत्रको स्तरउन्नती लामा कन्ट्रक्सन प्रालीले गरिरहेको छ । लोकमार्ग आयोजना कार्यालय पर्वतले आफुहरुले गर्ने सबै सहजीकरण गर्दागर्दै पनि निर्माण कम्पनीले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसार प्रगती नगरेको बताउँदै आएको छ ।

मौसम अगावै ७० प्रतिशत काम सक्ने योजना रहेपनि अहिले सम्म ५५ प्रतिशत मात्रै प्रगति भएको आयोजना प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १४:३१