गणेश माविका विक र पौडेल पुरस्कृत

भदौ ६ बागलुङ । गतवर्ष भएको कक्षा ८ को वार्षिक परिक्षामा सर्बोत्कृष्ठ अंक ल्याएका बागलुङको बलेवा स्थीत गणेश माविका २ जना विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरिएको छ । रणस्मृति पुरस्कार संस्था बागलुङको २६ औँ वार्षिकोत्सवको अवसरमा गणेश माविका सीमा विक र कुसुम पौडेललाई सम्मान गरिएको हो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल र बरिष्ठ साहित्कार काजी रोशनले विद्यार्थीलाई सम्मान गर्नुभएको हो । वागलुङ नगरपालिकाका समूदायिक विद्यालय मध्ये विक र पौडेल सर्बोत्कृष्ठ अंक ल्याएर उतिर्ण भएकोले सम्मान पाएका हुन् ।

विद्यालयको प्रतिष्ठा उचाईमा पुगेकोमा गणेश माविका शिक्षक, अभिभावक र विद्यार्थी प्रफुलित भएका छन् । यो बिद्यालयका विद्यार्थीहरुले हरेक प्रतियोगिता र परिक्षामा उत्कष्ठ नतिजा हासिल गर्दै आएका छन् ।

गतवर्षको कक्षा ८ को वार्षिक परिक्षामा ६५ जना विद्यार्थी उत्कष्ठ अंक ल्याएर उतिर्ण भएका शिक्षक गोबिन्द तिवारीले जानकारी दिनुभयो । २०३७ सालमा समूदायले चन्दा संकलन गरि स्थापना गरेको गणेश मावि अहिले सम्म समूदायकै रेखदेखका कारण गुणस्तर शिक्षा दिन सफल हुँदै आएको अभिभावकहरु दावी गर्छन ।

विद्यालयले २०७२ सालमा पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कष्ठ विद्यालयको उपाधी हासिल गरेको थियो भने २०७३ सालमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल भएको थियो । सामूदायिक बिद्यालयहरुमा विद्यार्थी रित्तिदै गईरहेको बेला यो विद्यालयमा भने भर्ना गर्न समेत अन्तरवार्ता र प्रबेश परिक्षा लिईदै आइएको छ । हाल विद्यालयमा पढ्ने विद्यार्थीको संख्या ७५० रहेको छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १४:०२