सिम्रीक सहकारीद्धारा बृद्धा आश्रमका खाद्यान्न वितरण

साजन परियार, पर्वत । ऋण र लगानी मात्र गदै आएको सहकारीले सामजिक सेवामा पनि चासो देखाउन थालेका छन् । पर्वतको कुश्मा बजारमा संचालन हुँदै आएको सिम्रीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुनाफाको केही अंश सामजिक कार्यमा लगाउन थालेको हो ।

सहकारीले आज मोदीवेणी बृद्धआश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न तथा सहित नगद वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि आश्रममा रहेका बृद्धाहरुलाई, दाल, चामल, नुन, चिनी, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको सहकारीका सल्लाहकार केदार कर्माचार्यले जानकारी दिनुभयो । बृद्धाश्रममा शुद्ध खानेपानीका लागि यूरोगार्ड पनि वितरण गरिएको छ ।

विंस २०७५ सालमा स्थापना भएको सहकारीले यस अघि पनि विभिन्न सामजिक कार्य गदै आएको कर्माचार्यले बताउनु भयो । तिजको अवसरमा खाद्यान्न सामग्री पाउँदा बृद्धाहरु खुशीले हर्षित भएका थिए । परिवारवाट अलग भएका आश्रममा बसिरहेका बृद्धाहरुलाई तिजको शुभकामना सहित नगद वितरण गरिएको सहकारीले जनाएको छ । खाद्यान्न वितरण कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष सुशिला श्रेष्ठ कर्माचार्यले तिजको अवसरमा बृद्धाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको बताउनु भयो ।

सहकारी मुनाफा आर्जन गर्ने मात्र नभई सामजिक कार्यमा पनि अग्रसर हुनुपर्छ भन्नेमा जोड दिनुभयो । सहकारीका सल्लाहकार शैलेन्द्र कर्माचार्यले दुखीहरुको सेवा गर्नु नै सहकारीको धर्म भएको बताउनु भयो । कार्यक्रममा सहकारीका एक दर्जन भन्दा बढि सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १४:२७