विद्यालयमा कम्प्युटर हस्तान्तरण गदै नेता जोशीले भने– ‘काँग्रेस जिल्लाको विकास र जनताको जिम्मेवारीवाट पछि हटेको छैन’

साजन परियार, भदौ ८, पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पर्वतको एक सामुदायिक विद्यालयमा कम्प्युटर सहयोग गर्नुभएको छ । प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीको सहयोगमा जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाको अम्बोटमा अवस्थित गहते अम्बोट आधारभुत विद्यालयमा कम्प्युटर सहयोग गर्नुभएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि विद्यालयलाई कम्प्युटर सहयोग गरिएको हो । कम्प्युटर हस्तान्तरण गदै नेपाली काँग्रेसका नेता जोशीले प्रविधिको विकास भइरहेको बेला उक्त विद्यालयका विद्यार्थीलाई कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग गरेको बताउनु भयो । उहाँले शिक्षा प्रतिपर्धात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा जीवन उपयोगी, प्रतिपर्धात्मक, रोजगारी दिने र समाज बुझ्ने खालको हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालय कखरा चिन्ने, पढ्न र लेख्नमात्र जान्ने जनशक्ति मात्र उत्पादन गर्छ भन्ने बुझाई छ,’ जोशीले भन्नुभयो,‘तपाईको ज्ञान र सीप समाज र मुलुकको लागि सक्षम जनशक्ति तयार गर्ने खालको हुनुपर्छ ।’सामुदायिक विद्यालयको गुणस्तरप्रति चासो देखाउँदै उहाँले विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसंगमा बोल्दै नेता जोशीले नेपाली काँग्रेस प्रतिपक्ष भूमिकामा रहेपनि जिल्लाको विकास र जनताको जिम्मेवारीवाट पछि नहटेको जिकिर गर्नुभयो । नेपाली काँग्रेस संयोगले चुनाव हारेपनि जनताको मन र मस्तिस्कमा अटल रहेको दाबी गर्नुभयो । उहाँले जनताको सेवा गर्न पद ठुलो कुरा नभएको बताउँदै सँधै जनताको सेवामा समर्पित भएर काम गर्ने उद्घोष गर्नुभयो ।

फलेवास नगरपालिका प्रवक्ता एवम् मुडिकुवाका वडाअध्यक्ष टिकाराम गौडेलले फलेवास नगरपालिकाले शिक्षामा नयाँ आयाम थपेको बताउनु भयो । उहाँले नगरको विकास र समृद्धिमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको जिकिर गर्नुभयो ।

फलेवास नगरपालिकाका मेयरका प्रत्यासी एवम् नेपाली काँग्रेसका नेता गंगाधर तिवारीले फलेवास नगरपालिकाले विकासको गति लिन नसकेको बताउनु भयो । निर्वाचन सम्पन्न भएको दुई बर्षसम्म पनि नगरले विकासको गति लिन नसक्नु नगरबासीको दुर्भाग्य भएको बताउनु भयो । मेयर पदमपाणि शर्मा प्रति लक्षित गदै नेता तिवारीले  नगरको रकमवाट मेयर रिवन काट्न हिँडेको आरोप लगाउनु भयो । ‘दुई बर्ष बितिसक्दा पनि रिवन काट्ने र सडकमा धुलो उडाउने बाहेक अरु काम भएको छैन,’ तिवारीले भन्नुभयो । समृद्ध फलेवास बनाउन नगरपालिकामा प्रशस्त सम्भावना र अवसर भएको बताएँदै दलिय स्वार्थवाट उठेर नगरको विकासमा लाग्न तिवारीले सुझाव दिनुभयो । साथै उहाँले गहते अम्बोट आधारभुत विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि ५१ हजार बरावरको हरिबासु अक्षकोष स्थापना गर्नुभएको छ ।

फलेवास नगरपालिका–११ पाङराङका वडाअध्यक्ष जितवहादुर सुनार‘शेरवहादुर’ले विद्यालयको फर्निचर खरिदका लागि १० हजार सहयोग गर्ने घोषण गर्नुभयो । कार्यक्रममा समाजसेवी बालकृष्ण तिवारी, समाजसेवी कृष्णा लम्साल, विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल, नेपाली काँग्रेस फलेवासका संयोजक हिरामणि सापकोटा, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनाखर गौडेल, समाजसेवी देवीप्रसाद विलासी, रेडक्रस मुडिकुवा शाखाका सभापति लिलाधर गौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम शर्मा, अभिभावक रुद्र तिवारी, विद्यार्थी शुभेच्छा शर्मा, निमेश तिवारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका अध्यक्ष चेतनाथ कुवँरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मोती च्वाई र कार्यक्रमको संचालन शिक्षक रमेश शर्मा सापकोटाले गर्नुभएको थियो ।

 

 

 

प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १६:४१