फलेवास नगरपालिकाले काम गर्न सकेन–नेता तिवारी

साजन परियार, भदौ १२, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ गणेशटोलमा महिलाहरुले तीजका मौलिक भाका गाएर तीज मनाएका छन् । शुक्रवार स्थानीय महिलाहरुले एक कार्यक्रमको आयोजना गरि समाजमा रहेका अगुवाहरुलाई तीजका मौलिक भाका सुनाएर मनोरञ्जन प्रदान गरेका छन् । उक्त अवसरमा सामूहीक दर समेत ख्वाइएको छ ।

समाजमा मौलिक भाका हराउँदै गएको बेला नमूना महिला समूहले भने मादल बजाएर मौलिक भाका गाएर तीजको परम्परा झल्काएका हुन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले पछिल्लो समय तीज मनाउने परम्परामा विकृति भित्रिएकोमा चिन्ता व्यक्त गर्नुभयो । तिवारीले महिलाहरुलाई तीजको परम्परागत र सांस्कृतिक महत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गर्नुभयो । नेता तिवारीले समग्र फलेवास नगरपालिकामा विकासको गति सन्तोष जनक नरहेको पनि बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधी आएपछि विकासले गति लिने विश्वास गरेका नागरिकहरु अहिले विकास नदेख्दा निराश भएको तिवारीले बताउनुभयो । वडाध्यक्ष अर्जुनबहादुर कार्किले तीजले सबै महिलाहरुमा उत्साह र जाँगर पैदा भएको भन्दै नगरको विकासमा महिलाहरुको भूमिका बढ्नुपर्ने बताउनुभयो । महिलाहरुको आयआर्जन गर्ने खालका कार्यक्रम नगरपालिका मार्फत सञ्चालन गर्नुपर्छ भन्ने आफ्नो माग रहेको कार्किले बताउनुभयो ।

उहाँले सिसाठाँटी सम्म पुगेको बाटोलाई व्यवस्थित बनाउन वडाको तर्फबाट सक्दो पहल गरिरहेको कार्किले बताउनुभयो । नमूना महिला समूहका अध्यक्ष दुर्गा अधिकारी शारदाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शान्ती अधिकारी र सञ्चालन दुर्गा गौतमले गर्नुभएको थियो । कार्यक्रममा भूपू सैनिक संघका अध्यक्ष खड्कबहादुर कार्कि, गणेश टोल विकास समितिका अध्यक्ष हेमप्रसाद अधिकारी, सिमखेत यूवा क्लव अध्यक्ष सरोज खनाल , पूर्व कर्मचारी संघका अध्यक्ष होमनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति १२ भाद्र २०७६, बिहीबार १७:१८