थापाठानामा शुभकामना आदानप्रदान : पार्टीभित्र एकताको खाँचो–गंगाधर तिवारी

 

पर्वत–विजयदशमी तथा दिपावली, छड्पर्व र माघेसंक्रान्ती जस्ता पर्वहरुको उपलक्ष्यमा नेपाली काँग्रेस फलेवास नगरपालिका–२ थापाठानाले  शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपाली काँग्रेसमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई भेला गरि काँग्रेसले शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा फलेवास नगरपालिका भित्र काँग्रेसमा आवद्ध सयौँ कार्यकर्ताहरको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले पार्टीभित्र सुधारको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले विगतमा भएका कमिकजोरीलाई आत्मसाथ गदै नेपाली काँग्रेस भित्र अनुशासन र एकताको खाँचो रहेको बताउनु भयो । ‘विगतमा क–कसले के गरे, छोड्दिनुहोस्,अव काँग्रेस भित्र भएका कमीकमजोरीलाई केलाएर अगडी बढ्नुहोस्–तिवारीले भन्नुभयो ।’ काँग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन नसक्ने उहाँको दावी छ । ‘इतिहास, सिद्धान्त र कार्यकर्तामा काँग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ,’उहाँले प्रश्न गर्नुभयो । पार्टी बलियो बनाउन काङ्ग्रेसभित्र वृहत एकताको खाँचो रहेको उल्लेख गर्दै राजनीतिक मुद्दामा काङ्ग्रेसले जितेपनि निर्वाचनमा पराजय भोगेको धारणा व्यक्त गर्नुभयो । नेता तिवारीले पाँच बर्ष फलेवास नगरपालिकाको जिम्मा पार्टीले आफुलाई दिएको बताउँदै संगठन सुदृढिकरण सँगै एकताको सन्देश दिने बताउनु भयो ।

फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिका एकलौटी ढंगले अगडी बढेको आरोप लगाउनु भयो । उहाँले नगरपालिकाले सवैसँग समन्वय गर्न नसकेको जिकिर गर्नुभयो । गाउँगाउँलाई जोडेर नगरपालिका स्थापना गरिएको बताउँदै नेता तिवारीले दुई बर्ष बितिसक्दा पनि जनताले नगरवासीको अनुभूती गर्न नसकेको बताउनु भयो । नागरिकलाई अत्याधिक कर थुपारेर नगरपालिका आफ्नै सेवा सुविधामा तल्लिन भएको आरोप लगाउनु भयो । उहाँले फलेवास नगरपालिका मेयरप्रति लक्षित गदै जनताको भावना विपरित हिँड्न खोजे काँग्रेस चुप लागेर नबस्ने चेतवानी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी सनम बेगमले पार्टीभित्र एकताको खाँचो रहेको बताउनु भयो । वर्तमान सरकारले असफल हुँदै गएको जिकिर गदै काँग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । बाम सरकारवाट जनता आत्तिसकेको बताउँदै उहाँले आगामी चुनावमा जनताले काँग्रेसलाई पहिलो पार्टी बनाउने बताउनु भयो । दुई तिहाई सरकारले झुटको राजनीति बाहेक अरु केही गर्न नसकेको उहाँको भनाई थियो ।

कार्यक्रममा फलेवास नगरपालिका–३ का वडाअध्यक्ष अर्जुनवहादुर कार्कीले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनु भयो । नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य एवम् वीपी स्मृति भवन निर्माणका सचिवालय समितिका संयोजक शिवप्रसाद सुवेदीले पार्टी बलियो नभएसम्म कुनै पनि निर्वाचन जित्न नसकिने बताउँदै पार्टीभित्र एकताको खाँचो रहेको जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेसले वीपी स्मृति भवन निर्माण गर्न लागेको जानकारी दिँदै सहयोग र सहकार्यका लागि सवैलाई आह्वान गर्नुभयो ।

नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटाले काँग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्ने दायित्व आम कार्यकर्ताको काँधमा रहेको बताउनु भयो । कार्यक्रममा भूपू सैनिक संघ पर्वतका अध्यक्ष खड्कावहादुर कार्की, प्रेश युनियन पर्वतका सचिव साजन परियार, नेवि संघ पर्वतका पूर्व अध्यक्ष नरवहादुर थापा, नेपाली काँग्रेस खानीगाउँका सचिव भिमवहादुर क्षेत्री लम्साल, नेपाली काँग्रेसका क्रियाशिल सदस्य एंव शिक्षाप्रेमी रुद्रनारायण तिवारी, थापाठानका वडा सदस्य तिलवहादुर क्षेत्री, नेपाल मगर संघ फलेवास नगरपालिका अध्यक्ष विरु थापा मगर लगायतले सुख, शान्ती, समृद्धिको कामना सहित आउँदै गरेका महान चार्ड पर्व सभ्य रुपमा मनाउन सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस थापाठानका वडा सभापति थमनसिँह थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पूर्णप्रसाद उपाध्याय र कार्यक्रमको संचालन थापाठानाका वडा  अध्यक्ष पदका प्रत्यासी पूर्णवहादुर भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १६:११