सिक्नु र पढ्नुपर्ने विषय हाे अभिनय

बजारका हिट अधिकांश कलाकारहरू सोध्ने गर्छन्, ‘अभिनय पनि सिक्ने र पढ्ने कुरा हो र ?’ उनीहरू अभिनय गर्ने क्षमता जन्मैदेखि लिएर आउनुपर्ने विश्वास राख्छन् । यस किसिमको धारणा बिल्कुल गलत हो । अभिनय भनेको चमत्कार, जादू वा अलौकिक काम होइन । यो एउटा प्राविधिक शिल्प हो । शिल्प भनेको अध्ययन र अभ्यासको सहायताले एउटा समयावधिमा विकास हुन्छ ।

अरू सर्जकझैं अभिनय गर्ने कलाकार पनि वातावरण र परिवेशले जन्माउने हो । वातावरण, संगत र हुर्काइबाट पाएको प्रेरणालाई मलजल गर्दै लगियो भने अभिनय शिल्प प्रकट हुन्छ । हलिउड अभिनेता टम क्रुज डायलग पढेर मनन गर्नै सक्दैनथिए । उनले हिम्मत हारेनन् । ‘स्टडी टेक्नोलजी’ पद्धतिबाट उपचार तथा अभ्यास गराएपछि त्यो कमजोरी हटाइछाडे ।

फिल्ममा काम गर्दागर्दै सिकिहाल्छु नि भन्ने प्रवृत्ति धेरै कलाकारको छ । यो ठिक होइन । अरूले लाखौं खर्च गरेर बनाउन लागेको फिल्ममा पाएको अवसरलाई हल्का लिनु हुँदैन । कुनै पनि फिल्ममा काम गर्नुभन्दा अघि त्यसमा चाहिने योग्यताको विकास पहिल्यै गरेर तयार हुनुपर्छ ।
हलिउड र बलिउडका हस्ती कलाकारहरूका सफलताबाट लोभिन्छौं । तर उनीहरूले त्यस्तो उपलब्धि पाउन गरेको परिश्रम र लगानीलाई बुझ्नेतिर लाग्दैनौं । अभिनय गर्न विश्वविद्यालयबाट डिग्री लिनुपर्छ भन्ने होइन । एउटा कुनै इन्स्टिच्युटमा आफ्नो प्रतिभालाई प्रष्फुटन चाहिँ गर्नुपर्छ ।

ऐना हेरेर अभिनय सिक्न सकिँदैन । ऐना हेर्दा आँखा त देखिन्छ तर शरीर सबै झल्किँदैन । अभिनय एक्लै सिक्ने विधा नै होइन । समूहमा घुलमिल भएर सिक्नु यसको प्रक्रिया हो । समूहमा हुँदा आफ्नो र अरूको समस्या छर्लङ्ग हुन्छ । साथीबाट सुझाव आउँछ भने आफूले अरूको गल्तीबाट सच्चिने अवसर पाइन्छ ।

अभिनेताको काम संवाद बोलेर दर्शकसम्म पु¥याइदिने मात्र हो भन्ने भ्रम छ । संवादको ‘सब टेक्स्ट’मा डुबेर त्यसको अर्थ निरूपण गर्ने वा उजागर गर्ने विवेक अभिनेतासँग हुनुपर्छ ।

प्रारम्भिक हलिउडमा अतिरञ्जित अभिनय शैली हावी थियो । फिल्ममा ‘लार्जर देन लाइफ’ भन्दै अस्वाभाविक अभिनय पस्किइन्थ्यो । तर स्टेला एडलरले यथार्थवादी र लि स्ट्रासबर्गले ‘मेथोड एक्टिङ’ शैली सुरु गरी अभिनयलाई जीवनसँग नजिक ल्याइदिए । स्टेलाले आफ्नै नाममा र स्ट्रासबर्गले ‘एक्टर्स स्टुडियो’ नामक इन्स्टिच्युट खोलेर हलिउडको अभिनय नै परिवर्तन गरिदिए । स्टेलाको इन्स्टिच्युटमा रोबर्ट डे निरो, बेनिसियो डेल टोरो, मार्टिन सिन, मार्लन ब्रान्डो र ‘एक्टर्स स्टुडियो’बाट सन पेन, मार्लिन मुनरो, ज्याक निकोल्सन, जुलिया रोबर्ट्सलगायत कलाकार प्रशिक्षित भए ।

रुसी रंगकर्मी स्टानिस्लाभस्कीद्वारा प्रभावित मेथोड एक्टिङलाई दर्शकले आफ्नो जीवनको अभिनय ठानेर स्वीकार गरे । चरित्रलाई सत्यको नजिक पु¥याउनुपर्छ । जे गर्दैछु, त्यो सत्य छ भन्ने महसुस स्वयं अभिनय गर्नेलाई हुनुपर्छ । प्रशिक्षित कलाकार यो मामिलामा अब्बल ठहरिएका छन् ।

प्रशिक्षण नलिएका कलाकारले पनि अभिनय त गर्न सक्छ । तर, उनीहरू एउटा दायरामा कैद हुन्छन् । सीमालाई छिचोल्नै सक्दैन । तर, प्रशिक्षित कलाकार सधैं नयाँ बाटो पहिल्याउन सक्षम हुन्छन् । त्यस्ता कलाकारले सुहाउँदो विधि अपनाएर आफूलाई घेराबाट बाहिर निकाल्न सक्छ ।

कहिलेकाहीँ फिल्ममा ननएक्टरलाई खेलाउने गरिन्छ । एकपटक राम्रो हुनसक्छ । तर, अर्को फिल्ममा पनि उसको प्रस्तुति उस्तै हुने सम्भावना रहन्छ । संसारभर कास्टिङ डाइरेक्टरले प्रशिक्षित कलाकारलाई छान्ने चलन बढी छ । तैपनि तालिम लिएका सबै कलाकार राम्रै हुन्छ भन्ने ग्यारेन्टी छैन । तर, प्रशिक्षणको कति महत्व छ भने, एकपटक सफलताको शिखरमा पुगिसकेका सुपरस्टारहरूले पनि एक्टिङ इन्स्टिच्युटमा आफूलाई ‘इम्प्रोभाइज’ गरेका उदाहरण छन् ।

अल पासिनो, रोबर्ट डे निरो, मार्लन ब्रान्डो जस्ता प्रसिद्ध स्टारहरू आफ्नो आर्किटाइपल (रुढिवद्ध) छविका कारण हैरान थिए । यसलाई परिवर्तन गर्न उनीहरूले ल्याब वा इन्स्टिच्युटको आवश्यकता महसुस गरे । त्यही भएर उनीहरू स्टेला एडलर र लि स्ट्रासबर्गको शरणमा पुगे ।
बलिउडका ऋतिक रोशन, रानी मुखर्जी कलाकार अनुपम खेरको इन्स्टिच्युटमा पढेर आएका हुन् भने चीनकी गोङ ली बेइजिङ आर्ट थियटरबाट प्रशिक्षित थिइन् । प्रशिक्षण लिनु भनेको एउटा सिस्टम वा अनुशासनमा समय बिताउनु पनि हो ।

वरिपरिको परिवेशले प्रतिभा जन्माउँछ भने प्रतिभालाई आयामिक बनाउने काम प्रशिक्षण र अध्ययनले गर्छ । संगीतकार बेथोभेन सानैदेखि दृष्टिविहीन थिए । उनले विभिन्न आवाजहरूमा ध्यान दिन थाले र आवाज केलाउन सक्ने खुबीलाई संगीतमा प्रयोग गरे । खेतमा सुनेका आवाजलाई पियानोमा खोज्न थाले ।

मैले सुरुमा नाटक गर्दा पारसी, संस्कृत र लोकशैलीमा आधारित भई अभिनय गर्थें । अभिनय पूरै नाटकीय थियो । तर, हामीलाई दर्शकसँग नजिकिएर अभिनय गर्ने शैली कहाँ प्राप्त गर्न सकिन्छ भन्ने थियो । त्यही धोको पूरा गर्न नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामामा नाटक पढ्न गयौं ।
तनावमा रहँदा अभिनय गर्न सकिँदैन । यस्तो तनाव हटाउने तरिका राम्रोसँग प्रशिक्षित कलाकारसँग हुन्छ । तर, स्टारहरूलाई अभिनयका कसरत थाहा नहुनसक्छ ।

तालिम नलिएको कलाकारलाई कुनै अनुभूति प्राप्त गर्न पाँच वर्ष लाग्नसक्छ भने सिकेकाले एक वर्षमै त्यो हासिल गर्नसक्छ । बजारमा डायलग रटाएर अभिनय सिकाउने थुप्रै इन्स्टिच्युट छन् । त्यस्ता इन्स्टिच्युटका प्रशिक्षक नै कतैबाट तालिम नलिएका र कुनै मेथोड नजानेका हुनसक्छ ।
बढ्दो सहरीकरणले समाज यान्त्रिक बन्दैछ । यो जटिलताले मान्छेहरूका संवेदना दिन प्रतिदिन मर्दैछ । तर कुनै फिल्म वा नाटकको पात्र भनेको हाडमासुको मान्छे हो । त्यसलाई जीवन्त बनाउन कलाकारहरू संवेदनशील हुनु जरुरी छ । यो संवेदशीलता जगाउन कलाकारले प्रशिक्षण लिनुपर्छ ।

कलाकारलाई आवश्यक पर्ने कल्पनाशीलता पनि हो । तर, डिस्को, कोलाहल, कृत्रिमता र कम्प्युटरले मान्छेको कल्पनाशीलता साँघुरिएको छ । यसको उपचार पनि प्रशिक्षण र कसरत हो । कसरतले मरिसकेको इन्द्रियलाई पुनर्जागृत गराउँछ ।

इन्स्टिच्युटको काम आत्मनिर्भर कलाकार (इनडेपेनडेन्ट एक्टर) उत्पादन गर्नु हो । हामीकहाँ धेरैजसो परनिर्भर (डेपेनडेन्ट एक्टर) कलाकार छन् । परनिर्भर अर्थात् निर्देशकले जे भन्यो त्यही अभिनय गर्ने वा निर्देशकसँग सोधेर काम गर्ने । आत्मनिर्भर कलाकारले चाहिँ निर्देशकले पनि नसोचेको अभिनय ल्याउँछ ।

स्थापित कलाकारले केही झुर फिल्म खेले पनि दर्शकले माफी दिन्छन् । नयाँ कलाकारले झुर फिल्म खेल्यो भने चाहिँ उसको करियर अघि बढ्न कठिन हुन्छ । त्यसैले नयाँ कलाकार आफूले खेल्न लागेको फिल्म कस्तो हो, जानकार हुनुपर्छ । फिल्म बुझ्ने क्षमता ऊसँग भएन भने दुःख पाउँछ ।

कलाकारले सबैभन्दा पहिले असल मानिस बन्न सिक्नुपर्छ । आफ्नो आसपासका राजनीति, संस्कृति, संगीत, सूचनाप्रविधिमा के–कस्तो विकास भइरहेको छ, त्यसलाई कसरी ग्रहण गर्ने, कलाकारले जान्नुपर्छ । वास्तवमा एउटा ज्ञानी अभिनेता वा अभिनेत्री समाजमा सधैं सम्मानित हुन्छ । त्यो ‘हाइट’ सबैले हासिल गर्न सक्दैन ।

अभिनयको स्रोत सिमित हुन्छ । यसलाई फराकिलो बनाउन र कलाकार परिपक्व हुन विभिन्न किताब अध्ययन गर्नुपर्छ । साहित्यिक कृतिले अभिनयका लागि उर्जा र अनुभूति दिन्छ । ४४ वर्षका आमिर खानले ‘थ्री इडियट्स’मा २२ वर्षको केटो भएर खेल्नुको कारण साँच्चिकै २२ वर्षको कलाकारमा फिल्मको पात्रमा देखिनुपर्ने परिपक्वता पर्याप्त नपाएर पनि हुनसक्छ ।

अभिनय भनेको आर्ट अफ एसोसियसन हो । यसले एउटा चरित्रलाई कुनै चिजसँग जोड्न सिकाउँछ । आफूलाई बाघसँग तुलना गर्ने हो भने बाघका गुणलाई मानवीकरण गर्ने सिप कलाकारसँग हुनुपर्छ ।

साइकल सिकेको जस्तो हुँदैन अभिनय, एकपटक सिकेपछि कहिल्यै नबिर्सने । अभिनेताले सिकेका कुरालाई जीवनमा अनुवाद गर्दै जानुपर्छ । आफ्नो दिमागलाई सधैं नयाँ ज्ञानले भर्नुपर्छ । अभिनेता सधैं ताजा रहनुपर्छ, नत्र मेकानिकल हुने डर हुन्छ ।

(रंगकर्मी तथा फिल्म निर्देशक बरालसँग दीपेन्द्र लामाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति १९ जेष्ठ २०७५, शनिबार ०५:४१