वर्षाका कारण काठमाण्डौं सहित देशभर चिसो बढ्यो

माघ ३, पर्वत । हिजो देखि सुरु भएको वर्षाका कारण काठमाण्डौं देशभर चिसो बढेको छ । माघे झरीका कारण हिमाली तथा पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भएको हिमपात यो वर्षको चौथो पटक हो । पश्चिमी वायु सक्रिय हुँदा यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ  ।  अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।  उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमबिदले बताएका छन् ।

यो क्रम आज रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली बिहानबाट मौसममा क्रमशः सुधार हुने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १५:०५